बूट पालिस आन्दोलन

बुट पालिस अभियानमा मेरो सङ्लग्नता
- डा. कविताराम श्रेष्ठ

यसै क्रममा मैले बुट पालिस अभियानमा आफ्नो सङ्लग्नता पनि पाजीकृत गर्नु पर्ने हुन्छ । साहित्यिक अभियानहरुमा अस्वीकृत जमातपछि बुट पालिसको क्रम देखिएको छ र यसले निकै नै प्रतिष्ठा पनि पायो । वास्तबमा अस्वीकृत जमातको जस्तो सैद्धान्तिक विद्रोह हामीले यसमा सोचेका पनि थिएनौँ । सामाजिक सङ्कलनको प्रकाशन बन्द गरिएको थियो र पत्रिका दर्ता गर्न हाम्रो पूँजीको क्षमताभन्दा बाहिरका कुरा थिए । हामीसँग पत्रिका रहेनन् र किताब छाप्न सक्ने पनि कुनै औकात भएन । हाम्रो कलममा ठप्पा लागेको थियो । त्यस्तै परिस्थितिमा छिटो सजिलो र प्रभावकारी प्रतिकार वा असन्तुष्टीको प्रदर्शन त्यही हुन सक्थ्यो- बुट पालिस । बुट पालिस गरेर कमाएको पैसाले किताबको प्रकाशन । धोवीधाराको वरपर साकार म र मोहन घिमिरे बस्दथ्यौँ । "जागरण" को अफिस त्यतै थियो । कुमुद नारायण ढकाल सन्तोष भट्टराई र भाउपन्थी पनि बेलाबेलामा आउँथे र छोयला कचिला र ऐलाका कार्यक्रमहरु नजिकैको भट्टीमा गर्दथे । आफू परेँ नपिउने । नपिउने भएपछि साथ पनि स्वतः कमै हुने रहेछ । यसै ताका कुरै कुरामा साथीहरुले योंग राईटर्स फ्रंट (नयुवा  लेखन) पनि गठन गरेछन्- मलाई पत्तै भएन ।
एक दिन साथीहरु तेज खरेल (जागरणका सम्पादक) का अफिसमा आइपुगे । योंग राईटर्स फ्रंट को मिटिङ्ग गर्न । म पनि पुगेँ । कुरैकुरामा साथीहरुले आफ्ना किताबहरु प्रकाशित हुन नसकेका तीता-मीठा प्रसङ्गहरु निकाले । सामयिक सङ्कलनको प्रकाशनमा लागेको प्रतिबन्ध र साझा र प्रज्ञा-प्रतिष्ठानका नीतिहरुबाट वाक्क भएका कुनै एकजना साथी सन्तोष वा नारायण ढकाल वा मोहन कुनैले बुट पालिस गरेर किताब निकाल्ने आवेग पोखे । छिट्टै नै सबैको दिमागमा पसेछ । एकै स्वरमा "हो" "हो" निस्कियो । तुरुन्तै भोलिपल्टै नयाँ सडकमा बुट पालिस गर्ने भइहाल्यौँ । म चुप थिएँ । भाउपन्थीले "के सोचेको" भनेर कोट्याए । मैले भनेँ- "सोचेर गर्नु पर्छ ।" मोहनले प्रश्न राख्यो- "के सोच्नु पर्छ ?" मैले भनेँ- "योजनावद्ध काम गर् यौँ भने राम्रो हुन्छ हतार गर्नुहुन्न ।" साकारले स्वीकृति जनायो । किशोर 'झुत्रेु' जङ्गियो- "तिमीहरु सुट-टाइ लाउने मान्छे बुट पालिस गर्न सक्तैनौ …। हामी त भोलि गरेरै छाड्छौँ ।"
म अवाक भएँ । साकार अवाक भयो । अवाक हुनुको मतलब अस्वीकृति थिएन । सबै साथीहरु घर फर्किए । बुट पालिस सोझै बुट पालिस गरेर अर्थ सङ्कलन गर्ने अभियान मात्र थिएन । यसका पछाडि बलियो "अस्वीकृतवाद"   पनि थियो । कहिँ कतै गल्ति भए इतिहासले हाँसो उडाउन सक्थ्यो । यो उछृङ्खल मानिन सक्थ्यो र सरकारका आँखामा पनि बिझाउने कुरा हुन सक्थ्यो । त्यसैले योजनाबद्ध काम गर्नु एकदमै जरुरी थियो ।

साकार, म र मोहन भएर रातभरि कार्यक्रम बनायौँ । यसलाई पब्लिसाइज  गर्न एकदमै जरुरी थियो । सम्बन्धित निकायहरुलाई हाँक पुर् याउन प्रचार पनि हुनु जरुरी थियो । त्यसैले हामीले पर्चाहरु लेख्यौँ । "साहित्यका लागि बुट पालिस" "नवयुवा लेखनका पुस्तक प्रकाशनार्थ बुट पालिस" इत्यादि । नौ बजे बिहान नयाँ सडक पुग्यौँ । योजना अनुरुप बुट पालिस गर्ने केटाहरु दुईवटा बाकस केही पालिस र ब्रसहरु दिन भरिको १०। - रुपैंयाँ दिएर भाडामा लियौँ र महिला संगठनको बिक्री भण्डारको पश्चिम पट्टि गयौँ । त्यहाँ पहिला पोष्टरहरु टाँस्यौँ । तीनजनामा केही लज्जा थियो । शुरु गर्न निकै गाह्रो पर् यो । मान्छेहरुको भीड बढ्न लाग्यो । भीडले हामीलाई नछोपुन्जेल  पोष्टर टाँस्ने व्यस्तताभित्र लाजलाई लुकाउन कोसिस गर् यौँ । अघिल्लो दिन जोस्सिने साथीहरु आइपुगेनन् । तेज खरेलले भीड जम्मा गरे । भीडले राम्रै छोपेपछि हामीले भीडबाट जुत्ता माग्यौँ । जुत्ता आउन लागेपछि हामीलाई लाज लाग्न छाड्यो । केहीक्षणमै काशीनाथ तमोट, नारायण ढकाल, धुर्व सापकोटा, भाउपन्थी गर्दै साथीहरु थपिए । विश्वनाथ आए तर पछि लुसुक्क हिँडे । कुमुद आएर पनि परपरै भागेछ । किशोर झुत्रे जसले यही गर्न हाँक दिएको थियो देखै परेन । जागिर जाने डर भएछ । भवानी घिमिरे, नगेन्द्रराज शर्मा, नृपेन्द्र पुरुष र तेज खरेल भीडबाट ग्राहक तान्न लागे । यस्तै प्रेम कैदी र आनन्द जङ्गलीले पनि केही साथीहरु ल्याए र हामीसँगै बसेर बुट पालिस गर्न सघाए । अपरान्ह पछि देखियो- हाम्रो बुट पालिसको लाम २०/२५ जनाको भएछ । हामीले सबै सहयोगीहरुलाई चिनेनौँ । साँझ ६:३० बजे हामीले उठ्ने निधो लियौँ । धेरै आए । हात मिलाए । धन्यवाद दिए । फोटो खिचे र तिनैमध्ये केही यस्ता पनि थिए जसले "फेसनका लागि बुट पालिस" वा "सस्तो नामका लागि बुट पालिस" भन्ने जस्ता कमेन्ट पनि गरे ।

पैसा गन्यौँ जम्मा २०९ रुपैंयाँ ४० पैसा उठेछ । भोलि पल्ट युनिभर्सीटीमा बुट पालिस गर्ने आग्रह युनिभर्सीटीका साथीहरुले गरे तर भोलिपल्ट आइत्त्वार थियो र हामी- साकार मोहन र मैले समय दिन सकेनौँ । भोलिपल्ट विद्यार्थी साथीहरुले युनिभर्सीटीमा साँच्चै बुट पालिस गरेछन् र झण्डै पाँचसय रुपैंयाँ हामीलाई बुझाउन ल्याए । सो जम्मा रकम रु सातसय  बैकमा मोहन घिमिरे र धुर्व सापकोटाको संयुक्त नाममा राख्यौँ । दुई हजारको आवश्यकता थियो । पछि हामीले चाहिँदो रकम जम्मा गर्न सकेनौँ । आजसम्म नै त्यो पैसा बैंकमै छ र हाम्रो किताब अझै निस्कन सकेको छैन ।

बुट पालिस अभियान निकै चर्चामा आयो । धेरै पत्रपत्रिकाहरुले लेखे । यी मध्ये अर्पण चर्चा राष्ट्रध्वनि ०३१ आश्विन १४ प्रतिज्ञा आश्विन १२ समय दैनिक सही आवाज दैनिकले यस अभियानको सराहना गरे । समीक्षाले सडक बोल्छ स्ततंभमा सडकका मतहरु समेत प्रकाशित गर् यो । भारतको दैनिक अङ्ग्रेजी 'टाइम्स अफ इण्डिया' ले स-सम्मान खबर दियो भने दिनमानले 'सर्व श्री किशोर नेपाल सङ्लग्न भएका अभियान' भनेर झूठो समाचार पनि छाप्यो । बिराटनगरबाट प्रकाशित 'कोशेली' मात्र यस्तो पत्रिका देखियो जसले त्यसबेला देखिएका सुनिएका र समस्त मनगढन्त नकारात्मक कुराहरु सङ्कलन गरी छाप्यो । छिट्टै नै हामीले महसुस गर् यौँ- यस अभियानबारे केही प्रकाशन गर्नुपर्छ । हाम्रासाथमा तेज खरेल थिए । उनको पत्रिका 'जागरन' वर्ष २, अङ्क ३, ०३१ ले 'बुट पालिस परिशिष्टाक प्रकाशित गरिदियो । यसमा हामी सबैजसो बुट पालिसेहरुका अभिव्यक्तिहरु छापिएका छन् । 
(मेरा अस्वीकृत मान्यता बाट उद्धृत)  
Click to see the pictures of the boot Polish Movement in   http://aswikrit.com/index.php?linkId=334

 



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   33981   times