मेरा खालखालका गुरुहरू

(सन्दर्भ गुरु पुर्णिमा)

(१) अक्षर सिकाउने मेरा गुरु मेरै पिता नन्दराम श्रेष्ठ हुनुहुन्थ्यो. बिहानै ठूलो वर्णमालाको सरस्वतिको पृष्ठ पल्टायर त्यसैमा ढोगेर मैले सरस्वतीको सम्पूर्ण पाठ बुवाको पछिपछि बोल्न पर्ने हुन्थ्यो. त्यो सिद्धिए पछि किताबको अक्षर देखाउंदै क ख ग पढ्न पर्थ्यो र सिल्लोटमा खरिले क ख ग लेख्न पर्थ्यो. अन्दाजी दुइ घण्टापछि पोलेको आलु र तातो दुध मेरो लागि उबेलाको ब्रेकफास्ट आमाले ल्याउनु हुन्थ्यो.
(२) मलाई बाह्रखरीमा पोख्त गराउने गुरु हुनुहुन्थ्यो छिमेकी दाजु पद्म राजभण्डारी. उहाका भाई स्यामसंगै मैले पूर्ण बाह्रखरी सिकें. उहाँ नृत्य, बाद्यबादन र गायनमा पनि पोख्त हुनुहुन्थ्यो. त्यसतर्फको साधनामा पनि मैले उहाँको गुरुत्वको उपयोग गरेँ.
(३) स्कूलमा म पहिलो दिन एक किलासमा र दोस्रो दिन दुइ किलासमा राखिएँ . त्यहाँ मेरा पहिलो औपचारिक गुरु फंणीन्द्र प्रसाद हुनुहुन्थ्यो. उहाँ पाठ्यपोस्तकको हरफ फरर पढेर सुनाउनु हुन्थ्यो र बुझ्यौ भनेर सोध्नुहुन्थ्यो हामी बुझ्यौं भन्थ्यौ. उहाले के बुझ्यौ भनेर सोध्नुहुन्थ्यो. हामी चुप हुन्थ्यौं. अनि उहाँले हाम्रो टाउकोमा ट्वाक्क लौरोले ठुङ्ग्नुहुन्थ्यो. त्यस्तो दिनभर हरेक दिन हुन्थ्यो.
(४) मलाई अंग्रेजीको A B C सिकाउने गुरु भनेको घरमा बुबा हुनुहुन्थ्यो र स्कूलमा पद्मराज वैद्य सर हुनुहुन्थ्यो. मलाई सिकाउन बुबाले पहिले आफूले सिकेर आउनुहुन्थ्यो र त्यही मलाई सिकाउनु हुँदोरहेछ. एक समयमा बुबा म भन्दा पछि पर्न लाग्नु भयो र मलाई सिकाइरहनु भएको बेलामा एकदिन मैले बालसुलभ बोलिदिएछु "आफू त जान्नुहुन्छ मलाई के सिकाउनुहुन्छ". बुबाले यो कुरा रमाइलोसाथ बजारतिर भन्नु भो. अनि मलाई अहिलेसम्म पनि मेरा अग्रजहरू यो कुरो दोहोर्याएर जिस्काउँछन्.
(५) मलाई नाचगान सिकाउने गुरु दाजुहरु विष्णु श्रेष्ठ, गोविन्द श्रेष्ठ, प्रिथिनारायण राजभण्डारी, पद्मसुन्दर राजभण्डारी र काका डम्बर श्रेष्ठ हुनुहुन्थ्यो. उहाँहरूले नेवारी भदौरे नाचको लागि मलाई ८ वर्षको उमेरदेखि १२ वर्षको उमेरसम्म तालिम दिनु भाथ्यो .
(६) मलाई हार्मोनियममा पहिलो सा रे ग म अनि तबलामा ता धे धि न्ना सिकाउने पहिलो गुरु हुनुहुन्थ्यो. पछि मेरो हात बसेपछि म स्वयम्ले साधना गरेँ.
(७) मलाई कथाहरू प्रति आकर्षित गराउने गुरु मेरा दाजु नारायणदास श्रेष्ठ हुनुहुन्थ्यो. उहाँका साथबाटै मैले परिवारबाहिर संसारमा पाइला चालें. यस क्रममा उहाँले मलाई हरेक दिनजस्तो नयाँनयाँ लोककथाहरू सुनाउनुहुन्थ्यो. मेरो लोकसाहित्यप्रतिको आकर्षण जगाउने गुरु उहानै हुनुहुन्थ्यो.
(८) कक्षा ७ सम्म उबेला हरेक पाठ बुझेर होइन कण्ठस्थ सुनाउनु पर्ने हुन्थ्यो. उबेला गुरुहरू सिस्नो लाउने, छडीले हात्केलामा हान्ने, कन्सिरी तान्ने आदि सजाय दिनुहुन्थ्यो. एकजना भूगोल शिक्षक गोपाल राजभण्डारी हुनुहुन्थ्यो जसले सिस्नो हान्ने गर्नुहुन्थ्यो. झरिलो सिस्नो देख्नेसाथ मेरो सातो जान्थ्यो र मैले कण्ठ परेको पाठ हावा हुन्थ्यो. यसरी मैले सिस्नो नखाएको दिने हुन्नथ्यो.
(९) कक्षा ८ मा पुग्दा नयाँ सरहरू, आनन्दीप्रसाद सिंह, बिटी सर र भिम प्रसादश्रेष्ठ स्कूलमा आउनुभयो. उहाँहरू कण्ठस्थ होइन, सारमात्र बताए हुने गरी पाठ बुझ्नु हुन्थ्यो. मेरो मनोबल उहाँहरू आउनुभएपछि उठ्न लाग्यो. ओखलढुंगामा आधुनिक शिक्षण विधि उहाँहरूबाटै सुरु भो.
(१०) कक्षा ८ मा पुग्दा नै भिम प्रसादश्रेष्ठबाट कविता लेख्ने प्रेरणा मिल्यो. अझ सानो उमेरमै म नेवारी नाटकहरूमा प्रयोग हुने हिन्दि गीतको अनुवादित गीतहरूबाट वाक्क भएर नेपाली गीतहरू आफ्नै सुरमा लेख्न थाली सकेथें. कविताका साथै, कथा, निवन्ध कसरी लेखिन्छ भन्ने विधिको जानकारी भिम प्रसादश्रेष्ठबाट सिकेको हुँ.
(११) पछि मेरो लागि प्रत्यक्ष गुरु कोही भएनन्. तर इतिहास एबं संस्कृति साहित्यको म एकलव्य साधकको लागि मदनमणि दीक्षित द्रोण गुरु हुनुहुन्थ्यो. उहाँले मलाई सदा साथ दिनु भो तर मैले कुनै औंला दक्षिणामा दिन परेन.
(१२) प्रत्यक्ष गुरु नरहेका मेरा यस्ता गुरु पनि हुनुहुन्थ्यो जो मेरो लागि गुरु मात्र नभएर संरक्षक पनि हुनुहुन्थ्यो. उहाँ हुनुहुन्थ्यो कृष्णचन्द्र सिंह प्रधान. उहाँ मात्र नेपालमा पहिलो र सम्भवत: अन्तिम यस्तो समालोचक हुनुहुन्थ्यो जसले अस्वीकृत विचारसाहित्यलाई निरपेक्ष ढंगमा समालोचना गर्ने गर्नुहुन्थ्यो. उहाँबाट आकर्षित म पहिलोपल्ट गुरू मान्दै गुरु पूर्णिमाको दिन एक झोला नासपाती भेटी लिएर उहाँको घरमा पुगेको थिएँ. यो नासपाती मेरो आँगनमा फलेको पहिलो फसल थियो. पछि उहाँ मैले स्थापना गरेको अस्वीकृत साहित्य पुरस्कार गुठी (२०५४) को लागि संस्थापक अध्यक्ष बन्नुभो र उहाँले देहान्तसम्म साथ दिनुभो. यस हिसाबमा उहाँ मेरोलागि गुरू भन्दा पनि बढेर संरक्षक समेत हुनुहुन्थ्यो.
आज मेरा यी १२ थरीका गुरुहरूलाई सादर सम्झना र नमन छ.



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   33978   times