अस्वीकृत बिद्रोहभित्र स्वीकृतिको संकट- कृष्णचन्द्रसिंह प्रधान

सन्दर्भ साहित्य ः लहर लहर टिपेर
    साहित्य जगत्मा केही न केही विलक्षण घटना घटिदिन्छन् । कहिलेकाहीं अनौठा विचार देखापर्छन् । कहिले कुनै नामको आन्दोलन चल्छ । बेलाबखत नयाँ नयाँँ प्रयोग भइरहन्छन् । यी सबै चिन्तन, सिर्जना, प्रयोगहरु वौद्धिक प्रक्रिया हुन् । यसभित्र सचेत मानसिकता र सिर्जनात्मक जिज्ञासाका कति आयाम होलान् । कति अविदितको खोज र पहुँचबाहिरका झिल्काहरु होलान् । तिनीहरुलाई स्वीकार गर्ने–नगर्ने अर्थमाभन्दा पनि यस्ता पनि सोचाइ राखिन्छ, प्रयोग हुन्छन्् भनेर बोध गर्ने जिज्ञासा धेरैमा हुन्छ । समकालीन विश्वसाहित्यसँग सम्बन्धित रहेर समसामायिक लहरलाई टिप्न सके पनि ज्ञानवद्र्धक होला । साथै उपलब्धि, योगदानका विशिष्ट शिखर–यात्रामा सम्मिलित हुन विश्वबौद्धिक सम्पर्कहरु भइरहनुपर्छ । “सन्दर्भ साहित्य ः लहर लहर टिपेर” देश–विदेशका यस्तै बुँदासित सम्बन्धित हुनेछ । यस अंकमा नेपाली साहित्यमा देखा परेका समसामयिक वैचारिक लहरहरुलाई टिप्ने प्रयासमा “अस्वीकृत विद्रोहभित्र परेका समसामयिक संकट” प्रस्तुत गरिएको छ । नेपालीमा वैचारिक आक्रोशको रुपमा आएको अस्वीकृत मान्यतासित यो सम्बन्धित छ । ठीक हो वा वेठीक भनेर होइन, अर्कै परिवर्तनको धरातल खोज्ने यो पनि एक विचित्र र जिज्ञासा जगाउने विचार लागेर ठाउँ दिइएको छ ।



वोदलेयर भन्थे– पाप स्वाभाविक छ, पुण्य कृत्रिम । आफ्नो स्वाधीनताका लागि उनले पापलाई रोजे ।

पापजस्तै ठानेर सहजतया स्वीकार नगरिने मान्यता, विचारहरु पनि हुन्छन् । समाजले सजिलैसँग तिनलाई निल्न सक्तैन । यसरी अस्वीकृतिको मार खानेमा हाम्रोमा अस्वीकृत जमात पर्छ । अब जमात हैन, व्यक्ति छ । कविताराम तिनै व्यक्तिको नाउँ हो ।

उनी भन्छन्– मेरो खोजी जीवनको हो, विभिन्न मूल्यहरुबाट मिचिएको परतन्त्री जीवनको मुक्ति ।

अर्थात् “मलाई मेरो सामाजिक जीवनमा एउटा अरुच्य सामाजिक जीवन बाँच्न बाध्यता छ, तर जे होस्, आफू आफ्ना पाराले बाँच्न म स्वतन्त्र छु । एकैचोटिमात्र आफूलाई समस्त रुढिग्रस्त मूल्यहरुबाट नांगो बनाएपछि यसरी बाँच्न सजिलो हुने रहेछ । म ‘‘स्वतन्त्रताको भीख माग्दिनँ, म आफ्नो पाराले बाँच्दछु र त्यो बाँच्ने पाराको वकालत समाजमा गर्दछु ।”
परिणमतः “मेरो धेरैजसो अभिव्यक्तिहरु प्रचलित व्यवस्थामा अभ्यस्त आँखालाई बिजाउने किसिमका छन् र त्यसैले अस्वीकृत छन् ।”
“त्यसैले नेपाली साहित्य जगत्मा, यसको इतिहासमा मेरो केही ठाउँ छ भने एउटा छाडा, उद्दण्ड, असाहित्यिक, निर्लज्ज अभिबक्ताको रुपमा छ ।”
र कविताराम अस्वीकृत लेखनका सक्रिय लेखक र अग्रणी प्रवक्ता हुन् ।

साहित्यमा मान्यतासम्बन्धी र मूल्यबारे धेरै किसिमका घोषणापत्रहरु लेखिए, प्रयोग भए । धेरै प्रकारका विचारहरु र चिन्तनहरु देखापरे– परम्पराको विरोधमा, नैतिकताको विरोधमा, सत्ताको विरोधमा, शास्त्रीयताको विरोधमा । यस्ता सिद्धान्तको लडाइँ परम्परा भई बाँचिदिएको छ र यो निरन्तरता शैली, कला, प्रविधि, भाषामासमेत अविच्छिन्न छ । कैले आन्दोलनको नाउँ‘ दिएर चलाए, कसैले समूह खडा गरेर फैलाए, कोही आक्रोश व्यक्त गर्ने अनौठो त्रियाकलाप अँगालेर । सबभन्दा ठूलो कुरा त मुक्ति हो । नयाँ सिद्धान्त, मान्यताहरु स्थापित गर्ने विचार, चर्चित हुने प्रलोभन, नयाँ बाटो लाग्ने मोह, आकांक्षाहरु सबैको सघाउ रहेको छ । तर यस्ता चेतनाले स्पन्दित नभई कहाँ नयाँ विचारको क्षितिज उघ्रने गर्छ र । साथै विचार, आन्दोलन, स्थापना, विरोध र प्रयोगहरु सबै बाँच्ने पनि गर्दैनन् । कति प्रभावकारी हुन्छन् तिनीहरु ? र कहाँ दुरगामी, अर्थपूर्ण भइदिएका छन् सबै ?

अस्वीकृत मान्यताहरु पनि एक सापेक्षित विरोध हो । मात्र विरोधभित्र कुनै कुरा स्थापित गर्ने मूल्य हुँदैन । अस्वीकृतवादको त आफ्नो छुट्टै आग्रह छ र यसको सबैभन्दा ठूलो आग्रह हो स्वतन्त्रता अर्थात मुक्ति । सारांश हो निर्वन्धित आयामप्रति व्यापक प्रतिबद्धता ।

स्वाधीनताका निम्ति पाप सकार्ने वोदलेयर र निर्बन्धित आयाम जिउने अस्वीकृतिमूलका छाडा–लेखनको कविताराममा कहाँकहाँ समिप्यताबोध हुन्छ । तर छाडा लेखनको निर्लज्जता स्वयं साध्य भएर यसैका निम्ति साधनारत उनको साहित्य होइन, कथा होइन, सिद्धान्त होइन भन्ने कुरा पनि नबिर्सौं र ती कुराहरु निक्र्योल गर्न सिद्धान्त पर्गेलिरहेको पनि छैन । तर पृष्ठभूमि, सन्दर्भ र तिनका पनि परिवेशसँग गाँसिएको हुनाले प्रसंगमा आइदिन सक्छन् ।
चर्चाको विषय अस्वीकृत सिद्धान्तको विवेचना नभई त्यसबाट निर्देशित लेखन हो । यसलाई प्रेरित गर्ने लेखन र मान्यताहरुमाझ अटूटता छ । कवितारामको विद्रोही मान्यताको साहित्यिक दुवैको चर्चा प्रासंिगक हृुनेछ ।
संसारमा अनौठा मान्यता, विचार बोकेर आउनेहरु पनि देखिन्छन् । अद्भुतताको पछि लागेर नौलो दिशा खोज्ने बिछट्टको प्रयोग र अराजकता पनि बेलाबखत भेटिन्छन् । तिनीहरु सबै अनुकरणीय नहोलान्, यस्तै निन्दनीय हुन् भन्न पनि सक्तैनौं । तिनीहरुले प्रबुद्धजनको मानसिक सतहमा तरंग ल्याएर शान्त, शून्य र समतल वैचारिक जीवनमा कति जिज्ञासा, प्रश्नहरु उठाइदिने पनि गर्छन् । विरोधी संस्कारको सिर्जना गरेर पुनर्रचनाका अनेक बन्द ढोका उघारिदिने पनि गर्छन् । आफैंमा कति सार्थक हुन्छन्, कति निरर्थक, कति अनुकरणीय सोच्नेहरुले सोचिरहन्छन् । यहाँ त असमानता भोगेर शोषित जीवन जिउने बाध्यताका विसंगतिपूर्ण मान्यता, आदर्शहरुको अवमूल्यन र विघटनबाट भएको सृष्टि भएको अनास्था, अराजकता, अविश्वासको मनःस्थिति, वातावरणले विरक्त र आक्रोशित हुनेहरुको निम्ति गौण र अर्थहीन ठानिन्छन् तथा बेमतलवको आकर्षण र बेछाँटको अद्भुतता पनि प्रिय र प्रभावकारी भइदिंदो रहेछ भन्ने तथ्य सर्वथा मिथ्या हैन रहेछ भनेर स्पष्ट हुनमात्र खोजेको हुँ । पुराना र नयाँ परिवर्तन खोज्ने अस्वीकृतिभित्र गहिरो युद्ध छ– संक्रमणको युद्ध । कोही यसलाई सकारुन् वा नसकारुन् तर मान्यतासम्बन्धी निषेधाज्ञाका लक्षमणरेखाहरु, नैतिक मूल्यसम्बन्धी बर्लिन् पर्खालहरु, परम्परादमित उत्तर–दक्षिणजस्ता म्याकमोहनका साँधहरु यथावत् मान्न तयार छैनन् । मुक्तिको कामना स्वयंमा अर्थपूर्ण छ र नैसर्गिक हो । निर्मुक्तिका उकुसमुकस तथा विरोधमा स्वच्छन्दता जाहेर गरेर अथवा निर्बन्धितताको उन्मुक्त अनुभूति प्रदर्शित गरेर रमाउन खोज्नेहरुको सृष्टिदृष्टिमा सबै कुरा ठीक्क–ठीक्क, तुल्य–तुल्य र छन्दबद्ध हुँदो रहेनछ । यद्यपि ती सबै बेछन्दका र तुकविहीन हैनन् तापनि अभ्यस्त भइनसकेका आँखा, संस्कार, आचार–विचारका निम्ति बिज्दो रहेछ । यो कुरा सिद्धान्तमा पनि घट्ने गर्छ, मूल्य–मान्यतामा पनि, प्रयोग र व्यवहारमा पनि ।

अस्वीकृत लेखनलाई कवितारामले सैद्धान्तिक स्वरुप दिने कोशिश गरेको छन् । मान्नेनमान्ने अधिकार सबैलाई छ । यिनै मान्यताको कवच लगाई सिद्धान्तको काठी कसेर अमान्य भनिने कतिपय विचारको टट्टु घोडा कुदाएर उनी बगरिलो परम्परा पार गर्ने दुस्साहस गर्छन् । यस्तो दुस्साहसिलो यात्रामा निस्केको दुई दशक  भइसक्यो । अझै स्वीकृत भइनसकेको विचारका कवितारामले त्यसकारण आज पनि अस्वीकृत नै हुँ भनेर असहज कुराकै वकालत गर्दैछन् । जमातका अन्य साथीहरु स्वीकृत भइसकेछन् क्यार अथवा स्वीकृत हुनाका लागि दृढ छन् । कुनै धक, कुनै संकोच नमानीकन लेख्ने उनको मर्दांगीपना र जण्ड लेखनीसँग अचेल पनि जम्काभेट गर्न सक्छौं ।

यहाँ उनको प्रकाशित “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” को प्रसंगमा भन्दैछु । यत्रतत्र छापिएका खास–खास अस्वीकृत कथाहरुसमेत गाभेर यो संग्रह तयार गरिएको रहेछ । हात पर्नेबित्तिकै ध्यानाकृष्ट भएँ । ध्यान धेरै प्रकारले तानिंदो रहेछ । कारणमा नजाऊँ । यहाँचाहिँ अद्भुत लागेर भन्नु नै सुहाउला । उनको सिद्धान्त वास्तवमा एकदम विचित्रको छ भन्न चाहेको होइन । न त सर्वथा नयाँ कुरा हुन्, न त सुन्दै नसुनेको जस्तो ।

मूल्यहरुबाट मिचिएको परतन्त्री जीवनको मुक्ति, मूल्यहरुबाट नांगो हुनु, अभ्यस्त आँखालाई बिज्ने कुराहरु अथवा स्वभाववादको आग्रह नै भनुँ सर्वांगमा स्वीकार नगर्नेहरु हुन्छन् तर अस्वीकार्य नै पनि हैनन् । अस्वीकृतिका यी बुँदाहरु अमान्य लाग्ने मान्यताभित्र पर्ने हुँदाहुँदै पनि केही यस्ता अस्वीकृतिजन्य दफाले नछोएको काल छँदैछैन भने पनि हुने यथार्थलाई दृष्टिगत गर्ने हो भने स्वयंलाई अस्वीकृत रुपमा प्रस्तुत गर्ने जिरह धेरै र अस्वीकृति थोरै हुन् कि भनेर सोचिदिने पनि नहोलान् भन्न सक्तिनँ ।

आगो सल्कनै नसल्कने गरी निभाउन खोज्नेहरु भए, तर निभ्दै ननिभ्ने विरोध पनि मान्छेमा सँगसँगै बाँचिदिएको छ । विरोधको अर्को यथार्थ हो अस्वीकृति । अस्वीकार समाजको वा त्यस्तो समाजलाई स्वीकार नगर्ने व्यक्तिको, जसको होस्, तर छ । यसलाई सिद्धान्त बनाएर मान्यतासँग जोड्नेक्रम कवितारामको देखिन्छ । जुनसुकै विरोधी वा अमान्य लेखनलाई परम्परावादी समाज र स्थापित साहित्यले हत्तपत्त स्वीकार गर्दैन । त्यसैको नाममा अस्वीकृत भनेर आफूलाई संज्ञापित गर्ने काम गरेर बहिष्कृत भए । अब मान्यता, वाद, सिद्धान्तद्वारा उपनयन गरी संस्कारित स्वस्प प्रदान  गर्न खोजिंदै छ । अस्वीकृति भए पनि आजका अस्वीकृत भनाइ, मान्यताहरु भोलि स्वीकार्य नहोला भन्न सक्तिनँ । यस्तो अवस्थामा अस्वीकृतिहरु सामयिक ठहरिन सक्छ, कि त नकारवादीहरुको शून्यवादसँग तुलनीय हुनेछ । निषेधको मूल्य छैन भन्दिनँ तर निषेधकै लागि निषेधको अर्थले शून्य समतुल्य ९ल्ष्जष्ष्किm० लाई संकेत गर्नेछ ।

यो सन्दर्भमा आएका बुँदाहरु हुन् । मुक्ति प्रसंगका अस्वीकृत कथाहरुबारे चर्चा गर्न अलि सजिलो होस् भनेर भूमिका बाँधेको स्पष्टिकरण दिन नपर्ला । विषय त २०४७ को मध्यतिर निस्केको यही कथासंग्रह हो । यसका कथाहरु अस्वीकृत सिद्धान्तलाई पुष्टि गर्ने हुनाले यसलाई अस्वीकृत मान्यताको कथात्मक प्रयोग भने हुन्छ । यहाँ महत्वपूर्ण कथा हो कि कथाले भिरेको सिद्धान्त हो यो अर्को चर्चाको विषय हुनसक्छ । अहिलेलाई त समसामयिक नेपाली साहित्यमा के कस्ता प्रयोगहरु, सोचविचारहरुले सिर्जनात्मक साहित्यलाई हुँडलिरहेका छन्, हुटहुटी लगाइरेहेका छन् जो लेखनको अभिन्न अंग हुनाको साथै गतिविधि, चिन्तन र प्रयोगसम्बन्धी अद्यावधिक स्थितिबाट अवगत हुन सघाउ पु¥याउँछ भन्ने तथ्यको कुनै एउटा अशंमा परिमित हुन चाहन्छ । आफैमा अनौठोजस्तो लाग्ने विचार तिनीहरुको सिर्जनात्मक सुनिस्चित दिशा समातीनसके पनि बौद्धिक साहित्यिक समाजमा यसको पनि अर्थ हुन्छ र त्यस्ता चिन्तन, अविदितको उत्सुकताले कुतकुती जगाएर समयानुकूल जीवन्तता प्रदान गर्ने भंिगमाको विकासमा टेवा दिनेछ । मुक्ति प्रसंगका कथाहरु हाम्रोमा समकालीन भिन्न दृष्टि र अनाबद्ध विचारसित सम्वद्ध सिद्धान्तका प्रयोगहरु हुन् जसको थालनी दुई दशकअघि नै भइसकेको थियो । यसलाई मनेर कथाको चर्चा गरिरहेको छैनँ, विरोध गर्नलाई आलोच्य विषय बनाइरहेको पनि होइनँ । यो पनि एक विचार हो, एक दृष्टिकोण र यस्तो प्रयोग पनि भएरहेको छ जो समकालीन प्रयाससँग सान्निध्यता राख्ने ठान्दछन् । वास्तवमा जति विस्मयबोधी लाग्नेछ त्यति वर्तमानको निकटतम हैन कि भन्ने पनि सम्झिनेछ । आफूलाई सर्वाधिक स्वतन्त्र, उन्मुक्त हुनाको अर्थमा सबैबाट निर्बन्धित र स्वाभाविक मुक्तिको खोजीमा यो लेखन अराजक छ ।

समकालीन लेखन कति त स्थापित लेखनको विपरीत बेग्लै मूल्य–मान्यताको खोजमा छुट्टै र निर्बन्धित विद्रोह वा विरोध सँगालेर आफ्नो अस्तित्वको निर्धक्क वकालत पनि गर्छ । तर अघोषित लडाईं छ यसमा धेरैको । अस्वीकृत लेखनलाई वैचारिकतामा हेर्दा यति अद्भुत र अराजक लाग्दैन जति तिनको प्रयोगमा लेखिएका कथाहरु अराजक वा छाडाबोध हुन्छ । कारण सिद्धान्तले व्याख्या खोज्छ र तिनबाट शब्दबोधभन्दा परको नग्नसत्य खुलस्त हुन पाउँदैन । जस्तै “स्वभाववाद” शब्द शारीरिक नग्नतामै सीमित हुँदैन, त्यतिलाई मात्र अथ्र्याउँदैन तापनि नांगोवादको अर्थमा परिभाषित शुकदेव कथाले वकालत गर्ने स्वाभाविकता धेरै छाडा लाग्न सक्छ । अराजक शव्द कहाँ कति डरलाग्दो छ जति अराजकता मुक्ति प्रसंगले बेहोरेको छ ।

साँचो कुरा हो, कथाहरु निर्दिष्ट विचारको भारी बोकेर प्रतिपाद्य विषयको द्यौराली उक्लने यात्राका हुन् । त्यसकारण कथामा वर्णित वस्तु, आरोपित उद्दन्डता, उद्घाटित विभत्सता, चित्रित अराजकता, असंकोचित निर्लज्जता सबै तिनीहरुकै प्रयोजन उनको छैन । मानवसमाजलाई हेर्ने सैद्धान्तिक पृष्ठभूमि उनको रहेकोले उनी मान्यतासित जोडिएका छन् । यी मान्यता र सिद्धान्तको प्रयोग उनका कथा हुन् । कथा विचारविहीन अथवा सिद्धान्तविरत हुँदैन भन्ने दृष्टिकोणको विरोध नगर्दा–नगर्दै पनि सिद्धान्त, दर्शनविशेषको सोझै आधिपत्य स्वीकार्न पनि मान्दैन । कथाले यो स्वतन्त्रता किन नखोज्ने ? जस्तो मान्छे वा व्यक्तिले निर्वन्धित स्वतन्त्रताको दावी गर्द ? तर कथाको सम्बन्धमा किन नखोज्ने ? जस्तो मान्छे वा व्यक्तिले निर्वन्धित स्वतन्त्रताको दाबी गर्छ ? तर कथाको सम्बन्धमा हिजो जुन धारणा थियो– कन्सेप्ट, त्यो आज छैन । कथा–निवन्ध, कथा–कविता, कथा–संस्मरणको माझ जुन स्पष्ट विभाजन थियो हिजोसम्म, त्यो साँध भत्किदो छ र एक–अर्काेसँगको विभक्तता मत्थर र मलिन हुँदै गइरहेछ । यो ठीक हो कि वेठीक भन्नु भन्दा पनि अन्ततोगत्वा कथालाई कथा भएर पनि बाँच्नु छ । कथाले बाहेक कथालाई जोगाउन सक्तैन । यो त्यसको विधागत पहिचानको केन्द्रीयतालाई नविथोलेर जे जस्तो परिवर्तन पनि अस्वीकार्य नहुने सन्दर्भमा कवितारामले यसको बेवास्ता गरेनन् भन्न मिल्दैन । र त्यो हो कथाको सोझो सैद्धान्तीकरण । उनी कथा लेखिरहेका हुन्नन्, कथा ढालिरहेका हुन्छन् मूर्तिकारले ढलोटको मूर्ति ढाल्ने गरेझैं । उनीसँग सिद्धान्तहरुको केही साँचो छ जसमा कथाका मूर्तिहरु ढालिंदै जान्छन् । कथा गौण हुनाको पृष्ठभूमिमा सार्थक नहुने साध्यको चर्चा नगरुँ ।

यथास्थितिमा विधाहरुको संरक्षण सायद सम्भव छैन । त्यसैले नित्य नवीनता दिने विचार र शैलीअन्तर्गत जति पनि प्रयोग तथा परिवर्तन भएरहेका छन् साहित्यमा, तिनमा विधाहरुको सम्मिश्रण पनि एक सुखद कारण हो । यसमा लेखक हराएर होइन, विचारलाई तिलाञ्जली दिएर पनि होइन ती समेतको परिपाक कथारुप मूल प्रश्न हो । के कविताराम कसका उत्तर हुन् ? सम्भवतः हुन् पनि, हैनन् पनि । होइन यस अर्थमा भन्नुपर्नेछ किनभने उनी कथा होइन, सिद्धान्त रहेछन्– केवल प्रतिपादन । हुन् भनेर यसकारण दावी गर्छु किनभने उनी कथा लेख्छन् र कथालाई अँगीकार गरेर सिद्धान्त भन्छन् । सरदरमा भन्दा कथाकार थोरै हुन्, सिद्धान्तकार धेरै भएर लेख्ने अस्वीकृतिका प्रवक्ता ।
प्रयोगधर्मिताको चेत र विरोधी विचारको अनुशीलन, आग्रहद्वारा निमित्त लेखन हुनाले उनको कथाशैली पनि यसबाट प्रभावित छ । सिर्जनात्मक चेतनाको अभावमा तथाकथित विचार, जिरहको साहित्यिक मूल्य हुँदैन । यस संग्रहका कथाहरुमा प्रायः प्रयोगात्मक सीपको प्रयोग छ तर कैदीको छोरा, मुक्ति प्रसंग, शुकदेव, जीवनदान, हरिभुंगे राजा र भताभुंगे काजी, वुटपालिसका कोलाँज कथा, चश्मा जस्ता कथालाई दृष्टान्त मान्न सकिन्छ अस्वीकृत मान्यताको वैचारिक ऊर्जा र सिर्जन सचेत सीपको टड्कारे बोध यहाँ छ ।

अर्को कुरा परम्परा नमान्नु नै क्रान्तकारिता होइन । निर्वन्धितताको अर्थ के हो र अस्वीकारेर मान्यताहरु के कस्तो सम्बन्ध, मूल्य र मर्यादाहरु खोजेका हौं ? उत्तर नभएको प्रश्नको अर्थ हुन्न । नमान्नु ठूलो कुरा हो, यसभन्दा ठूलो र महत्वपूर्ण कुरो हो मान्ने के त ? विश्वासको संकट विश्वास खोस्नेहरु सृष्टि गर्छन् । मान्यताहरु अपरिवर्तनशील धारण राख्ने अन्धविश्वासले गर्दा विघटित हुन्छन् । मुक्तिप्रतिको आसक्ति निर्मुक्तिका कठोर वन्धन हुन् । अराजकता अव्यवस्थित व्यवस्थाभित्रैबाट सिर्जना हुन्छ । यस्तो विसंगति र विषयमा चुलिएको समाजमा संगति र समता खोज्नु शायद सभ्य मूर्खता ठहरिनेछ । र मुक्ति प्रसंगका अस्वीकृत कथाहरुमा कवितारामलाई त्यसैले ओर्लनुपरेछ ।
अनि लेखे मुक्ति प्रसंग कथा ।

तिमी एकैपल्ट मात्र नांगो हुन सक्यौ भने तिमीलाई बौलाहा बनाउने मान्यता, अकालमा शहीद बनाउने देश, जनता बनाउने राजनीति, स्वतन्त्रतामा टयfक्स लगाउने सत्ताले छुन सक्ने छैन ।
अनि उनले लेखे कैदीको छोरा ।

‘आमालाई भनें– उसो भए तयार होऊ म ऋतुदान गर्छु । यहाँ नयाँ मान्छे जन्मनै पर्छ ।‘
अनि लेखe शुकदेव कथा ।
‘‘नांगै नुहाइरहेकी तरुनीहरुले शुकदेवलाई नांगै स्थितिमा नतमस्तक भएर ढोगे । ‘‘
अनि बलात्कार गरेर जीवनदान कथामा भन्छन्–
‘‘एउटा जिन्दगीलाई मैले मनचाहे भोगें र त्यसलाई आफ्नै पारामा मर्न छोडेर हिंडें । ‘‘
हरिभुंगे राजा र भताभुंगे काजी नियतिका मान्छे र उसको संघर्ष जस्तै निरर्थकता पार गर्न कतै त्यही कालचक्रमा त यो वर्तमान पनि छैन ?

यसरी कतै अराजक भइदिएका छन्, कतै नग्नतावादी, कतै बलात्कारी । कारण माथि नै भनियो । सबैका अर्थ छन्– जगविनाका घर यी हैनन् । घर गोदाम हो कि, हावादार महल, चौतारो हो कि सभागृह ? जुन काम परिपूर्ति गर्ने उद्देश्ये बनाइन्छ त्यही अनुकूलको घर हुन्छ । कवितारामको कथाघरको पनि जग छ र यो उनकै अनुकूल निर्मित छ ।

हामी बाँदरभन्दा कति मान्छे हौं ? हामी आदिमभन्दा कति सभ्य र मुक्त जीव हौं ? सभ्यता आदिम अनुहार ढाक्ने मकुण्डोमात्र हो भने (र मकुण्डो स्वयं  आदिम कालको प्रतीकरुप हो भने मुकुण्डो नलाएरै स्वभाविक किन नहुने ?) किन नांिगन सक्तैनौं ?– शुकदेवजस्तो ? “मुक्ति प्रसंगका बहुलाहरुजस्तो ? कवितारामको भनाइ सारांशमा मान्छे जे हो र जस्तो हो त्यही भइदिनुपर्छ । सम्भव छ ? संभव छ हिमालको निर्जन कन्दरामा बास बसाएर साझा जिन्दगी गुजार्न ? यस्तो समझदारीको जिन्दगी जहाँ तिमी सबको, म सबको, काम सबैको, लोग्ने सबैको, स्वास्नी सबैको, छोराछोरी सबैको, प्रेम सबैको र स्वतन्त्रता सबैको ? तर स्वभाववाद यसै भन्छ ।
लुगा लगाएर पनि नांगो र परव्रम्हमा लीन होऊ । परव्रम्ह अर्थात् यस्तो सत्य जो मोह र सम्बन्धहरुबाट अलग, नांगो शरीरभन्दा पनि नांगो हुन्छ आदियथार्थ ।

नपुंसक बाबु र अर्को पोइ वरण गर्न नसक्ने आमाको विरुद्ध ऋतुदान गर्न तम्सने छोरा चाहन्छ यहाँ नयाँ मान्छे जन्मनै पर्छ । र यो नयाँ मान्छे र आमाले विशेष विम्बलाई संकेत गर्छन् र यसलाई सृष्टिको बाँझोपन र अयोग्यताको प्रतीक मानेर विरोधमा अर्को नयाँ रचनाका लागि बलप्रयोग आवश्यक छ भन्ने परिवर्तन, निर्माणको सन्दर्भमा कविताराम व्याख्या दिन्छन् । तरुनीमा जिन्दगीप्रति मोह, आस्था, अनुराग जगाएर “जीवनदान” गर्ने वलात्कारको परिभाषा यहाँ तुलनीय छ । वलात्कारलाई जायज ठह¥याउने परिभाषा हो वा जीवनप्रति आस्था, प्रेम जाग्रत गर्ने वलात्कार वरदान हो भन्ने अथ्र्याएका हुन्– मान्यताविरुद्धका मान्यताहरु अद्भुत र असहज लाग्ने छन् ।
निषेधित घोडेटो र मान्यताका दुर्लंघ्य उकालो पार गर्ने विचारका मुक्तिकामी कथाकार हुन् कविताराम । सामाजिक विषमता, विसंगति, विडम्बना आडम्बरहरु प्रचलित मान्यता र मर्यादाहरुले गोडेर हुर्काएको खेती हो । यसलाई सकारेर स्वतन्त्रताको निर्वाह हुँदैन । निभ्र्रान्त निर्वन्धितता मुक्ति हो । स्वाभाविक नभई यो हासिल हुने होइन । अस्वीकृति र परम्पराको चूडान्त विरोधमा अराजक पनि हुनुपर्ने छ, विद्रोही पनि, नग्न पनि र क्रान्तिकारी पनि । यसभित्रको नकार्ने प्रवृत्तिले युरोपको शून्यवादलाई सम्झाउँछ । तर यो नै उद्देश्य नरहेको अस्वीकृत सिद्धान्त भन्छ निषेध यसको निचोर होइन ।

स्थिर तलाउमा हिर्काउने ढुंगा हो अस्वीकृत मान्यताका कथाहरु, जसको स्पर्शमात्रले साना–मसिना लहरका तरेली उठ्छन् । र एउटा चलहल आराम्भ हुन्छ । तीब्रतम विरोध चर्किदै जाँदा ख्याल नगरिने सीमोल्लोङ्घनमा जस्तोसुकै तर्क प्रेषित भए पनि तर्कमात्र लाग्ने तर्कलाई स्वभाव मानेर हत्तपत्त पत्याइहाल्लान् भन्न सक्तिनँ । तर यसका निम्ति कथा सजिलो माध्यम हो । यसकारण प्रश्न उठ्नसक्छ के कथा केवल सिद्धान्त हो ? सिद्धान्तपुष्टिका निम्ति लेखिने कथा कति मात्रामा कथा हो, कति मात्रामा होइन ? यसको निजी पहिचान के हो ? अस्तित्व अपहरण गरेर कथाको आफ्नो उद्देश्यपूर्तिका निम्ति यसलाई कति मात्रामा प्रयोग गर्न सक्छौं, कति सक्तैनौं ?
साहित्यिक विधाहरु र कलालाई पनि एक प्रकारले अक्षतयोनी भने हुन्छ । विजातीय संसर्ग असामाजिक नठहरिने संरचनाको सन्दर्भमा जोसँग जति पनि सहबास गर्ने स्वतन्त्रता तिनीहरुलाई छ । कविताले गद्यसँग, कथाले कविता–निवन्धसँग, निवन्धले कवितासँग, फेरि कविताले संगीत–चित्रसँग, चित्रले संगीतसँगको सहयात्रा–समागम नै साहित्य–विधा, कलाविधाहरुको बदलिंदो र सम्मिश्रित आधुनिक स्वरुप भन्न मनलाग्छ । जोसँग समागम गरे पनि मान्छे नै जन्मिन्छ भनेजस्तै तिनीहरुले पनि बदलिंदो स्वरुपभित्र आ–आफ्ना विधागत पहिचानलाई कुनै न कुनै रुपमा जोगाउँछन् । कवितारामले जोगएनन् नभनेर त्यसको स्वतन्त्रताहरण भयो कि भन्नेमात्र गुनासो छ । यो हो कथ्य अर्थात् सिद्धान्तप्रतिपादनमा मात्र साँघुरिनुपरेको कथाको अनिमुक्ति । यसले अद्भुतिक किसिमको निरुपणमा मूख्य गरी चासो लिएको छ । शैली यसको अनुसरण हो, विषयको दृष्टिले जुनचाहिं सामान्य अथवा कम अद्भुत छ शैली पनि त्यसै अनुसार अनुसरण हो, विषयको दृष्टिले जुनचाहिं सामान्य अथवा कम अद्भुत दृष्टिले निवन्ध–कथा भनेमा अनुपयुक्त नहोला । निवन्धको नजीक हुँदै कथा भन्ने पात्र कथाकार आफैं हुन् । जे भन्छन् र भनिन्छ यसमा लेखकलाई सामुन्ने देख्छौं, उनको आवाज सुन्छौं, उनकै हाँक र डाँक–बोली सुन्नेछौं ।

मुक्ति प्रसंगका कथाहरु पढेपछि अरु संपूर्ण विवाद र उजूरीलाई पन्छाएर निरपेक्ष भयौं भने एउटा सत्यवोध हुन्छ । यसको सम्बन्ध खालि सिद्धान्तसित छैन, प्रयोगसित छैन, शैलीसित पनि छैन । सगोलभित्र छ र कुनै एउटा निर्दिष्ट आवलम्वनलाई नमानेर तिनीहरुबाट प्रतिभासित हुने आभासलाई यहाँ टिप्न खोजेको हुँ– यो हो सिर्जनात्मक चिन्तन । रुखमुनि पर्ने छायाँभित्र छायाँमात्रै होइन घामका छिर्काछिर्की पनि हुन्छन् । उनको सिर्जनात्मकतालाई यसरी नै भेट्नेछौं । अस्वीकृतिले दिएको सोच्ने नयाँ परिवेश र विचारहरु मान्ने–नमान्ने हक सबैलाई छ । मान्यताबाट अलि पर हटेर हेर्ने हो भने नमान्दा नमान्दै पनि तिनीहरुभित्र समाजलाई, जीवनलाई हेर्ने सोचाइ र लेखनमा सिर्जनात्मक पुनःसिर्जन छ । कविताराम दार्शनिक भएर लेख्न थालेका नभई सर्वप्रथम लेखक भएर सोच्ने हुनाले हराएको कुरालाई आफैं भइ हेर्ने, परिभाषित गर्ने, अर्थ दिने सन्दर्भका शोधक हुन् र लेखक । कथा–उपन्यासमा प्रयोग गर्दा अरुभन्दा भिन्दैखाले प्रस्तुति र शैलीका कथाकार, चिन्तकको सिर्जनशीलता देखिन्छ । लोकरुचि न उनको हेतु रहेको छ न हेय । खुलस्त, निःसंकोच र निर्भीकतासाथ भन्ने भईकन पनि कथ्यको सम्पूर्ण निष्कर्षले विम्ब धारण गरेको हुन्छ र प्रतीकात्मकताभित्रै घटित घटनाको संकेतले सिद्धान्तलाई खोल्ने कथात्मक प्रस्तुतीकरणप्रति अति सजगता छ उनको सीपमा । यी सबैले उनीभित्रका सिर्जनशीलतालाई स्पष्ट गर्छन् । यो नै कविताराम हो लेखकको रुपमा ।
विरोध, अस्वीकृति, विद्रोह, अराजकता, छाडापनहरुको विकास जुनसकै पृष्ठभूमिमा हुने गरे पनि तिनका सिद्धान्त वा दर्शनको गम्भीरता, व्याप्ति र मानवीय धरातलमा परिपक्व भई विशिष्ट प्रयोग र परिष्कृत स्वरुपभित्र अन्तर्भूत कलासिर्जनमा तिनीहरुको मुक्ति हुन्छ ।

वस्तु राम्रो भएर राम्रो नहुने हुन्छ भनेजस्तै नराम्रो भएर नराम्रो नमानिने पनि हुन्छ । “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” को प्रसंगमा कुनै आग्रह राखेर भन्दा पनि नेपाली साहित्यमा पनि यस प्रकारको अनौठो विचार मौलाएको छ र यस किसिमका कथा पनि लेखिंदै छन् भनेर लेखनको समकालीन विस्मयजन्य प्रयोगप्रति ध्यानाकृष्ट गर्नु अप्रासंिगक ठहर्दैन ।

–––
समकालीन, वर्ष १, अंंग–२, बैसाख जेष्ठ, आषाढ ०४८ पृ ८७ – ९३



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   1   times