विज्ञान–साहित्य सम्बन्धी पत्र– सरुभक्त

विज्ञान–साहित्य सम्बन्धी पत्र

प्रिय कवितारामजी,

तपाईँको व्यक्तित्व र कृतित्वसम्बन्धी पुस्तक प्रकाशित हुँदै छ भन्ने कुरा सुन्दा साह्रो खुसी लाग्यो । तपाईँको चर्चा गर्दा तपाईँको विज्ञान–साहित्यको पनि चर्चा हुनुपर्छ । नेपालमा विज्ञान–साहित्यकारहरुको संख्या सिमित छ तर संखयात्मक सीमाभित्रको आकास हाेंचै हुन्छ भन्न सकिन्न । विश्वका धेरै देशमा विज्ञान–साहित्यले अभूतपूर्व उन्नति गरिरहेको छ – यसको पछाडि विज्ञान–साहित्यकारहरुको प्रतिभाको योगदान त छँदै छ, सर्वसाधारण पाठकहरुको अभिरुचि र सुयोग्य समालोचकहरुको उत्साहवर्धनको हात पनि कम छैन । हाम्रोमा यतिखेर विज्ञान–साहित्य रचना गर्नु कुनै समयमा झ्याउरे साहित्य रचना गर्नु जस्तै निन्दनीय मानिन्छ । हाम्रोमा कति नामचलेका समालोचकहरु विज्ञान–साहित्य भन्नासाथ मुख लुकाएर भाग्छन् । धेरैपल्ट नेपाली कथासाहित्यको सिंहावलोकन गर्दा विज्ञान–कथाहरुको नामसमेत उल्लेख गरिंदैन । यही कुरा नाटक र उपन्यासमा पनि लागू हुन्छ । मलाई थाहा छैन, यो मात्र “अज्ञानता” हो वा “सुनियोजित उपेक्षा” पनि हो । जे होस्, सत्य यही हो कि अहिलेसम्म नेपाली साहित्यमा विज्ञान–साहित्यले कुनै “स्थान” प्राप्त गरेको छैन । नेपाली साहित्यमा कसैले विज्ञान–साहित्यको इतिहास खोजेको पनि छैन । यही पृष्ठभूमिमा म तपाईँको विज्ञान–साहित्यबारे केही अनुभूति व्यक्त गर्न इच्छुक छु – तर मेरो इच्छा समालोचना होइन । समालोचना भविष्यका समालोचकहरुले नै गरुन् ।

विज्ञान–साहित्यको जन्म पश्चिममा भएको हो भनिन्छ । प्रथमतः दोस्रो शताव्दीका लुसियनले “वीरा हिस्टोरिका” नामक एक पुस्तक लेखेका थिए जस्मा एक व्यक्ति चन्द्रमामा पुगेको बर्णन छ । यो पुस्तक सायद व्यंग्यरुपमा रचना गरिएको थियो । पूर्वका धर्मग्रन्थहरुमा पनि धेरै वैज्ञानिक सन्दर्भ छन् । महाभारतमा वर्णित पुरु–ययातिको कथा संभवतः हार्मोन परिवर्तनको कथा हो, शिखण्डीको कथा यौन परिवर्तनको कथा हो । कौरबहरुको जन्मकथाले परखनली शिशु (टेस्ट्ट्यूव बेबी) को झझल्को दिन्छ । रामायण – महाभारतका अमोघ शस्त्रअश्त्रले आजका उन्नत परमाणु अश्त्रहरुको संझना गराउँछन् । सायद अश्वत्थामाले उत्तराको गर्भमा एक्स–रे अश्त्र वा विकिरण अश्त्र प्रयोग गरेका थिए । पश्चिममा पनि यस्ता प्राचीन विज्ञान–सन्दर्भहरु छन् । पश्चिमी पुनर्जागरण कालपछि, विशेष गरी उन्नाइसौं शताव्दीमा द्रुत्ततर गतिमा वैज्ञानिक उन्नति भएपछि वास्तविक अर्थमा विज्ञान–साहित्यको जन्म भएको हो । तपाईँलाई थाहा छँदै छ, सन् १८१८ मा मेरीशेलीद्वारा रचित “फ्रेकेन्स्टाइन” लाई धेरैले पहिलो विज्ञान–साहित्य मान्छन् । सन् १८२८ मा जन्मेका जूलवर्नले ”अराउण्ड दी वल्र्ड इन् एटी डेज,” “जर्नी टू दी सेन्टर अफ दी अर्थ”, “टूवेन्टी थाउजण्ड लीग अण्डर दी सी” जस्ता महत्वपूर्ण विज्ञान–साहित्यको सृजना गरेर फ्रान्सिसी विज्ञान–साहित्य र सम्पूर्ण विश्वसाहित्यमा उल्लेख्य योगदान गरे । यस्तै १८६६ मा वेलायतमा जन्मेका सुप्रसिद्ध लेखक एच्.जी. वेल्सका “दी टाइम मेशीन” “ए मोर्डन यूटोपिया”, “ दि अन् डाईंग फायर”, “ए स्टोरी अफ् दी स्टोन ऐज” आदि रचनाहरुले विश्वसाहित्यलाई नै प्रभावित पारेका छन् । यस्तै “वाइल्ड एडवेन्चर्स अराउण्ड दी पोल” का रचनाकार गोर्डन स्टेवल्स, “दी लाग अफ दी फ्लाइंग फिश” का रचनाकार हेरी कलिङबुड, “एक्रस दी जोडियक” का रचनाकार पर्शी गेग, “बिफोर एडम” का रचनाकार ज्याक् लण्डन र “रोसम्स यूनिवर्सल रोबोट्स्” का रचनाकार कैरल चेपेकका योगदान पनि उल्लेखनीय छन् । चेकोस्लोभाकियाका नाटककार कैरेल चेपेकले नै सर्वप्रथम “रोबोट” शव्दको प्रयोग गरेका थिए । विश्व विज्ञान–साहित्यका यी महान रचनाकारहरु निश्चय पनि शून्यबाट जन्मेका थिएनन् । यसको पृष्ठभूमिमा औद्योगिक क्रान्ति, विकासवादी सिद्धान्त र अन्य थुप्रै वैज्ञानिक अन्वेषणद्वारा परिवर्तित परिदृष्यहरु देखापर्छन् । यो साहित्यमा विज्ञानको प्रत्येक्ष प्रभाव हो, विज्ञानमा साहित्यको कति प्रत्येक्ष र कति अप्रत्येक्ष प्रभाव पनि हो । हाम्रोमा महान औद्योगिक क्रान्ति कहिल्यै भएन त्यसैले विज्ञानमा महान साहित्यकारहरु जन्मेनन् । तपाईँका पूर्ववर्ती साहित्यकारहरु रमेश बिकल, शंकर लामिछाने, मोहनराज शर्मा र तुलसीराम कुँवरले अप्रयाप्त केही प्रयास गरेका थिए । म अहिले रमेश बिकलको किशोर उपन्यास “बिक्रम र नौलो ग्रह”, संझदै छु । शंकर लामिछानेको कथा “माया नं. ६५३” संझदैछु । मोहनराज शर्माको “यमा” संझदैछु । र तुलसीराम कुँवरको “नेटो पारी” संझदैछु । यसबाहेक अन्य कति अग्रगन्य लेखकहरुले “विज्ञान” लाई साहित्यमा स्थान दिए – यो गहन खोजीको विषय हो । मदनमणि दीक्षितज्यूले पौराणिक मिथकमा आधुनिक कथा भनी “कच शुक्र र देवयानी” लेख्नु भएको छ । यो एक उल्लेखनीय विज्ञान कथा हो । हालै हरि मञ्जुश्रीको “चालीसौं शताव्दी” नामक विज्ञान उपन्यास प्रकाशित भएको छ । यहाँ एउटा कुरा के भन्न मन लागेको छ भने प्रारम्भिक विज्ञान–साहित्य बढीमा फेन्टेसी हुन्छ, कम्तीमा तथ्यात्मक विज्ञान हुन्छ । रमेश बिकल र तुलसीराम कुँवरका उपन्यासहरु यस्तै छन् मोहनराज शर्माको नाटक पनि यस्तै छ । सायद मोहनराजजीले “यमा”को रचना वैज्ञानिक अभिप्रायले गर्नुभएको होइन । यस नाटकमा यन्त्र मानवहरु वैज्ञानिक उद्देश्यका लागि भन्दा सामाजिक व्यंग्यका लागि प्रयुक्त छन् । विज्ञान–साहित्य तथ्यात्मक वैज्ञानिक कल्पना नभएर फेन्टेसीमा अल्मलिनुको प्रमुख कारण वैज्ञानिक शिक्षाको कमी नै हो । “लुमेन” का स्रष्टा कैमिल फ्लेमरिओन खगोलशास्त्री हुन्, बोेरिस स्प्रूगाल्स्को पनि खगोलविद्–गणितज्ञ हुन् । आइजक एसिभोव, आर्थर सी क्लार्क, यफ्रेमेव जस्ता सुप्रसिद्ध आधुनिक विज्ञान कथाकार उपन्यासकारहरु कि त वैज्ञानिक नै हुन्, नभए विज्ञानमा उच्च योग्यता प्राप्त व्यक्ति हुन् । थाहा छैन, हाम्रा वैज्ञानिकहरुले कहिलेदखि विज्ञान–साहित्यको रचना गर्ने हुन् । हामी आशा गरौं, “२००१ः ए स्पेस ओडेसी” का रचनाकार आर्थर सी. क्लार्क, “एन्ड्रोभिडा” का रचनाकार यफ्रेमेव र “वाईसेन्टीनियल म्यान”, “आई. रोवोट”, “दी मार्शियल वे” र “वाइ जुयिटर” आदि दर्जनौ पुस्तकका रचनाकार आइजक एसिभोव जस्ता प«तिभाशाली विज्ञान साहित्यकारहरु भविष्यमा जन्मदै गर्लान् । हामीकहाँ “एमेजिङ स्टोरीज” र “ मीरप्रीक्लूशोनिया” जस्ता विज्ञान पत्रिकाहरु प्रकाशित हुन बाँकी नै छ । यी राष्ट्रिय–अन्र्तराष्ट्रिय पृष्ठभूमिमा तपाईँको विज्ञान–साहित्यको अध्ययन गर्दा सादिच्छापूर्वक केही प्रिय केही अप्रिय कुरा गर्न मन लागेको छ ।

अहिले मेरो हातमा तपाईँका दुई पुस्तक छन् – “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” र “स्वभाव गीता” । पहिलो पुस्तक छयास्मिसे कथा संग्रह हो भने दोस्रो पुस्तक पूर्णरुपले एक विज्ञान नाटक हो । “मुक्ति प्रसंगका अस्वीकृत कथाहरु” मा तपाईँका दुई विज्ञान कथा संग्रहीत छन् । पहिलो कथा “यान्त्रिक यन्त्रणा” लाई मैले “कालो कथा” मा पढीसकेको थिएँ । यसलाई फेरि दोह¥याएर पढें । दोस्रो “सन् २३७५ को गिनीपीग” लाई यसै संग्रहमा पढें । दुवै कथामा तपाईँले चारसय वर्ष पछाडिको समय परिकल्पना गर्नुभएको छ । पहिलो कथामा समय चारसय वर्ष पहिलेको पूर्वजीवित मान्छेको मूल्यसित समायोजित हुँदैन जस्को परिणाम –– मान्छे समयसित पराजित हुन्छ र जीवन अजम्भरि सुःख कामनाका बिपरित यान्त्रिक यन्त्रणा मात्र बन्न पुग्छ । अमर हुने मान्छेको इच्छाद्वारा सृजित समस्याका यस्ता कथाहरु धेरैले लेखेका छन् । एउटा कथा मैले पनि लेखेको छु जस्को नाम हो – “हृदयको पाचौं कोठा” । “यान्त्रिक यन्त्रणा” मा तपाईँले आत्महत्यालाई गैरकानुनी पार्नु भएको छ । मैले आफ्नो कथामा सन्ततीको सुखद् भविष्यका लागि आत्महत्या गर्नुपर्ने अवधारणा प्रस्तुत गरेको छु । तपाईँको दोस्रो कथामा चारसय वर्ष पछिको समयले बीशौं सताव्दीको आदिम मानवीय मस्तिष्कमा मात्र हुने “सम्वेदनशीलता” लाई बुझ्ने प्रयास गरेको छ । कथामा बीशौं सताव्दीको एक बाबु र एक छोरी छे । छोरीले संस्कार भुल्छे त्यसैले कथाको पहिलो हरफमा नै उ यौनोत्तेजनाले नांिगएर भालेमाथि (बाबुमाथि) खनिइरहेको हुन्छे । संस्कार नभुलेको बाबु छोरीको कामुक आक्रमणदेखि भागिरहन्छ र रुँदै भनिरहन्छ – “छोरी, तिमीलाई के भईरहेछ ? ‘ म तिम्रो बाबु हुँ ।” कथाको अन्तमा परिक्षण योजनाले बुझ्छ – “आदिम युगमा बीर्यदातालाई बाबु, गर्भाधान गरी बच्चा काढ्ने पोथीलाई आमा र बच्चाहरुलाई छोराछोरी भनिन्थ्यो ।” स्वरुपगत दृष्टिले होइन, बिचारगत दृष्टिले यो कथा “यान्त्रिक यन्त्रणा” को तुलनामा धेरै अगाडि बढेको छ, तर यस कथामा धेरै समस्याहरू पनि छन् । पहिलो समस्या, तपाईँले “आदिम” शव्दको अवैज्ञानिक प्रयोग गर्नु भएको छ । दोस्रो समस्या, चारसय वर्ष पछिको समाजले बीसौं सताव्दीलाई “आदिम” भन्न सक्छ कसरी ? अहिले हामी जुन समाजलाई “आदिम” भन्छौं, त्यस समाजमा बाबु–आमा, छोराछोरी आदिमानवीय सम्बन्धहरु परिभाषित भएकै थिएनन् – यस अर्थमा परीक्षण सम्बन्धहरु परिभाषित भएकै थिएनन् – यस अर्थमा परिक्षण योजनाको निष्कर्ष कसरी विज्ञानसम्मत हुन्छ ? र सबभन्दा महत्वपूर्ण समस्या, छोरीले संस्कार भुलेर बाबुसित यौनसमागम खोज्नुको कुनै वैज्ञानिक कारण दृष्टिगोचर हुँदैन । यदि छोरीको विस्मृतिलाई एक “दुर्घटना” मान्ने हो भने परीक्षण योजनाको निष्कर्ष तपाईँले प्रस्तुत गर्नु भएको निष्कर्षभन्दा बेग्लै हुनुपर्छ भन्ने मलाई लाग्छ । यी समस्याहरु अनुत्तरीत रहँदारहँदै पनि “सन २३७५ को गिनीपीग” बिचारोत्तेजक छ र संभवतः तपाईँको विज्ञान–साहित्यमा श्रेष्ठ पनि छ ।
यो प्रारम्भिक कथालेखन पछि बिक्रमाव्द २०४८ मा अस्वीकृत विज्ञान नाटक भनेर “स्वभाव गीता” प्रकाशित गर्नु भएको रहेछ । सिंगो पुस्तकको रुपमा प्रकाशित यो तपाईँको पहिलो विज्ञान–साहित्य हो करीव सय पृष्ठ लामो । यस कृतिको आवरण पृष्ठमा तपाईँले “अस्वीकृत विज्ञान नाटक” भनी साहित्यिक बिधा प्रष्ट पार्नु भएको छ तर भित्रपट्टी भूमिकामा “मैले यो पुस्तक नाटक लेख्छु भनेर लेखेको थिईनँ । उपन्यास लेख्दै थिएँ । ‘‘नाटकन्यास भएको हुन सक्छ ।” भन्नु भएको छ । यस्तो कमजोरी किन ? हुन त तपाईँले यो बुझिलिनोस् मित्र, कमजोरी भनेको कमजोरी नै हो, कुनै महान प्रयोग होइन । यही कमजोरीले गर्दा यो एक “गड्यौलान्छे कृति” भएको छ । डा. तारानाथ शर्मालाई “प्राक्कथन” लेख्दा धर्मसंकट परेको स्पष्ट छन् । कतै उनी “औपन्यासिक नाटक” भनीरहेका छन्, कतै “नेपाली आख्यानको क्षेत्रमा सर्वदा नयाँ र सफल आयाम थपेको” कुरा गरीरहेका छन् । मलाई लाग्छ, तपाईँ जस्तो श्रेष्ठ साहित्यकारले बिधागत स्पष्टता राख्नै पर्छ । मेरो बिनम्र निवेदन छ ।

“भन्दा भन्नु पर्ने कुरा” नामको भूमिकामा तपाईँले आफ्नो सरोकारको विषय पहिलेपहिले झैं “स्वभाववाद” र “मूल्य” भएको, मूल्य परिवर्तनशील हुन्छ भन्ने कुरा भोगाउन खोजेको र संक्रमणको कथा लेखेको दावी गर्नुभएको छ । एच्.जी.वेल्सको “दी टाईम मेशिन” को प्रविधिमा रचित यस कृतिमा “क” र “ख” नामका प्रेमिप्रेमिका हुन्छन्,– एउटा निर्जन स्थानमा बसेर यीनीहरु सोच्दै नसोचेको नातासम्बन्ध परेकोमा असन्तुष्ठी र पश्चाताप मानिरहेका हुन्छन् । अकष्मात चट्याङको प्रतिध्वनि हुन्छ । उनीहरु ३०४६ सालमा पुग्छन् । आफूलाई “शान्तिदूत” भन्ने व्यक्ति धृष्टतापूर्वक सम्माननीय पूर्वजहरुको अपहरण गर्नु परेको कारण भन्छ । उसको भनाईअनुसार शुद्धनश्लका सन्तती जन्माउन महान पूर्वजहरुको अपहरण गर्नु परेको हो । उ भन्छ – “तपाईँहरुको मानववंश आज अन्त हुने अवस्थामा छ ‘‘मानवजातिको वंश रक्षार्थ हामीले तपाईँहरुलाई तपाईँका समयबाट ल्याएका हौं ।” यसरी उपन्यास वा नाटक अगाडि वढ्छ । यसपछि उनीहरु विस्तारपूर्वक “गड्यौंलान्छे संस्कृति” र “मानव वंशको विजोग” का कुरा सुन्छन् । चौधौं दृश्यानुक्रम – अर्थात् “स्वाभाव गीता” को “स्वभाव गीता” मा आइपुग्दा “ख” नातेदारी सम्बन्ध स्थापना गर्न तयार हुन्छे । “क” तयार हुन सक्तैन । अन्तमा “क” बिना शारीरिक सम्बन्ध वीर्यदान गर्न तयार हुन्छ, असिजिलो मान्दै । परीक्षण बोतलमा गर्भाधान कृया हुन्छ । एकतिसौं सताव्दीका प्रयोगहरु सफल हुन्छन् । शान्तिदूत उनीहरुलाई समय यात्रा गराई “आफ्नो समय” मा पु¥याइदिन्छ । आफ्ना समयमा फर्केपछि उनीहरु यौनसमागमको सपना देख्छन् । एकतीसौँ शताव्दीमा पुगेको बेलामा भन्दा उल्टो पारामा “ख” पागल हुँदै हिंड्छिन्, “क” यसलाई मूलप्रवृत्तिको स्वभाव भन्छ । तपार्ईँले मान्छेको मूलप्रवृत्ति र मानव भविष्यलाई आफ्नो विज्ञान साहित्यको मुख्य विषय बनाउनु भएको छ – म यसलाई स्तुत्य सोचाई भन्छु । तर यो सोचाईलाई हार्दिक प्रसंशा गर्दा मैले मेरो मस्तिष्कमा उत्पन्न भएका प्रश्नहरु तपाईँसामु राख्नु नै पर्छ । होइन भने मित्रतालाई ईमान्दारीता मान्न सकिदैन ।

पहिलो प्रश्न ः सन्तती जन्मका लागि निष्ठावान प्रेमीप्रमीका (पतिपत्नी होइन) खोजी ल्याउने १००० वर्षपछिको समाजमा “नातेदारी सम्बन्ध पनि रहेछ जस्को कारण शारीरिक सम्बन्ध हुन सक्तैन” भन्दा शान्तिदूत भन्छ – “तपाईँ हजार वर्ष पछाडि हुनुहुन्छ जहाँ त्यो मूल्यको कुनै अर्थ छैन ।” यदि पूर्वज–मूल्यको कुनै अर्थ बाँकी छैन भने किन आणविक दूर्घटना पछि, समस्त मानवजातिको जीनमा विकृति आएपछि, मान्छेहरु जन्मन छोडेपछि – पूर्वजहरुको परंम्परागत यौनसम्बन्धको आकांक्षा ? के शुद्ध नश्लको अवधारणा समकालीन मूल्यको अवधारणा होइन ? आजको मूल्यप्राप्तिका लागि नातेदारी यौनसम्बन्धको सामाजिक वर्जना मूल्यलाई मूल्यहीन भन्नुको औचित्य के हुन सक्छ ? कतै यो “स्वभाव गीता” भित्रको अश्वभाव गीता त भएन ?

दोस्रो प्रश्न, हाडनातासम्बन्ध विज्ञान सम्मत हुँदैन । यो सम्बन्धमा शुद्ध नस्लप्राप्तिको संभावना न्यूनतम हुन्छ । के यो कुरा एकतीसौं शताव्दीवालाहरुलाई थाहा थिएन ?
तेस्रो प्रश्न, निर्मलीकरण पृकृयाको वैज्ञानिक औचित्य के छ ? तपाईँले “क” र “ख” लाई हजार वर्षपछिको समययात्रा गराउनु भएको छ, तर “निर्मलीकृत गराइएन भने उहाँको जीनमा विकृति आउने छ” (पृ.१४) भन्ने कुराले समययात्राको आभास होइन, अन्र्तग्रहीय वा अन्र्तरक्षेत्रीय यात्राको आभास दिन्छ ।

चौथौ प्रश्न, नियन्त्रकको कथन अनुसार (पृ.२९) पाँचसय वर्षअगाडि “ आणविक दाहको चपेटामा परेर सृष्टीको नास भयो” तर “अन्य भौतिक उपलव्धीहरु धेरै नष्ट भएनन् ।” के आणविक हातहतियारको प्रयोग हुँदा यसो हुनु संभव छ ? यदि आणविक विष्फोटन रहित विकिरण युद्ध गरिएको हो भने “त्यसबखत कुनै प्रकारले” बाँचेका एक जोडी मानवहरु र उनका सन्तानहरुलाई के त्यस्तो कुनै नकारात्मक असर परेन ?
पाचौं प्रश्न, “शारीरिक बल कम भएकै आधारमा मात्र पुरुष जातिको अधिनता स्वीकार नगर्ने” स्त्रीहरुको “पुरुषहीन समाज विकासको कल्पना” ले द्विलिंगी संस्कृति जन्मेको छ र पछि पुरुषहरुले जोडी पाउन छोडेपछि उनीहरु पनि द्विलिंगी हुन वाध्य भएका छन् । शक्तिशाली पुरुष समाजमा यो कसरी संभव छ ? के सबै स्त्री द्विलिंगी हुँदा पुरुषहरु मूक दर्शक बन्न सक्छन् ?
छौटौं प्रश्न, तपाईँले तत्कालीन समाजलाई वैज्ञानिक दृष्टिले अत्यन्त उन्नत भन्नु भएको छ, त्यस प्रवृद्ध समाजका वैज्ञानिकहरु “जन्मजात द्विलिंगी मान्छेको सृजना गर्न” गड्यौंला र मान्छेको जीन कल्चर गर्छन् । प्रयोगको दृष्टिले यो असंभव छैन तर “गडयांैलान्छेहरु मान्छेहरुभन्दा दसौं गुणा बढी बौद्धिक” हुनु कसरी संभव छ ?

र सातौं तथा अन्तिम प्रश्न, तपाईँको मूल प्रवृत्तिसम्बन्धी अवधारणा अवैज्ञानिक त भएन ? आफ्नो युगमा पुगेपछि “मायाको सान राख्न हामी अलग बसौं जिन्दगीभर । बिवाह नगरी ।” भन्ने “क” र “म जीवनभर अविवाहित रहनेछु । .... माया पवित्र रुपमा निरन्तरित रहोस् ।” भन्ने “ख” सबथोक बिर्सेर रतिकृयाको सपना देख्छन् । अन्तिम दृश्यानुक्रममा “क” भन्छ– “तिम्रा हाम्रा चेतना सामाजिक ढोंगहरुले ग्रसित छन् । तर हाम्रा मूलप्रबृति आफ्ना स्वभावमा छन् ।” यो घटनाक्रमले के दर्शाएको छ भने नातेदारहरु बीचको यौनेच्छा नै मान्छेको मूलप्रबृति हो स्वभाव गीता हो । यो तपाईँको आग्रह हो ।, विज्ञान होइन । विज्ञान–साहित्यमा यस्तो अवैज्ञानिक गीता किन ? मलाई लाग्छ, “स्वभाव गीता” सन् २३७५ को गिनीपीगको एक असफल बिस्तार हो । आफ्नो गीता प्रतिपादन गर्ने क्रममा तपाईँले “क” र “ख” को नाता के पर्छ– भन्न संकोच मान्नुभएको छ । मूलप्रबृतिको आग्रहलाई सत्य सावित गर्न तपाईँले एकतीसौं ÷ बिसौं दुबै शताव्दीमा “क” र “ख” बीच प्रत्यक्ष यौनसम्बन्ध स्थापित गराउन सक्नुभएको छैन । यो पनि संकोच हो, संस्कारजन्य । के तपाईँको यी संस्कारले आफ्नै गीतालाई अस्वीकार गरेनन् ?

म मेरा प्रश्नहरु सबै सही छन् भनी दावी गर्दिन । एउटै कुरा के दावी गर्छु भने तपाईँ नेपाली विज्ञान साहित्यको क्षेत्रमा सह्राहनिय योगदान दिंदै हुनुहुन्छ । म तपाईँको उत्साहलाई अभिनन्दन गर्छु । विज्ञान साहित्यको यो शैशावावस्थामा हामीलाई जानी नजानी तोतेबोली बोल्ने र ठाउँ–ठाउँमा लोट्ने अधिकार छ । काखी बजाएर हाँस्नेहरु हाँसी रहुन् हामी तातेबोली बोली नै रहौं लोटी नै रहौं । हाम्रा यी बोलाईहरु र लोटाइहरु उसै खेर नजालान् । मेरो हार्दिक शुभेच्छा ।
– सरुभक्त



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Keyboard of Preeti font
 



Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   34013   times