Front Gallery


Aswikrit award 066 to Dr. Madhurya, Russia


Aswikrit award 065 to Hom Nath Subedi


Aswikrit award 065 to Hom Nath Subedi handed over in USA


Children's Literature Promotion Honor-065 to Pramod pradhan


Children's Literature Promotion Honor-065 to Kartikya Ghimire for ketaketinews.com


Children's Literature Talent Award 065 to Oskar Sapkota


Bimochan of Novel "James Wilson" (Part II) By Oskar Sapkota


Samman to Dr. Kavitaram Shrestha by Pravashi Nepali Sahitya Parishar UK


BigNepal.com Honor to Kavitaram in UK
Watch Video


Innovation Award for his book Ke Kina Bhaniyo? to Kavitaram in UK

INLS Honor to Kavitaram in USA


Inu Shrestha -064 Talent for International Network for Children's Literature

अस्वीकृत रचना

एएनएसको पिकनिक एएनए कन्भेन्सन र प्रॆमराजाको उचाई
अमेरिकामा एएनए र आइएनएसका ती अविस्मरणीय सहित्यिक कार्यक्रम
पर्खाल भीत्र र बाहिर (दिपेंद्रको असहज मृत्युको बारेमा लेखिएको कथा) - Dr. Kavitaram Shrestha


पर्खाल भीत्र र बाहिर
(दिपेंद्रको असहज मृत्युको बारेमा लेखिएको कथा)
 
- Dr. Kavitaram Shrestha (cartskrs@hotmail.com)
 
पर्खालभित्र शुक्रवार । परिवारका सबै सदस्यहरु एक ठाउँमा आएर रम्छन् । पिउने पीउछन् खाने खान्छन् नाच्ने नाच्छन् ।
 
सदा झैं यो शुक्रवार पनि त्यो जमघट भयो । बज्यैदेखि पनातिसम्मका चारपुस्ताको जमघट । एउटा पारिवारिक पारम्परिक जमघट । तर दीपेन्द्रलाई यो रमझम कत्तिपनि रमाइलो थिएन । एउटा किलकिलाउदो असन्तुष्टीले उसलाई पीडा दिइरहेथ्यो । सबै रमाइरहेथे । उसलाई भने यो झर्कोको जमघट थियो ।
 
एउटा परम्परागत जमघट जसलाई टार्न ऊ कत्ति पनि सक्दैनथ्यो । अनुशासनको कुरा मात्र होइन । सन्तानमा ऊ जॆठो छारो । अझ उत्तराधिकारी नै । विरासतमा उसलाई ठूलै अधिकारको िसंहासन छ जो परम्परा रहेसम्म सुरक्षित छ । त्यो परम्परा जीवित रहँदामात्र त्यो आसन बलियो रहन्छ अनि त्यो उत्तराधिकारलाई मलजल पुग्छ । आफ्नै अस्तित्वको त्यो आधारलाई उसले नकार्न मिल्दैन । सक्तैन । त्यसैले ऊसलाई यस्ता परम्परामा अनुरक्त हुनै पर्थ्यो   चाहेर पनि र नचाहेर पनि । यन्त्रवत ऊ त्यस परम्परामा नारिएको छ ।
चारपुस्ताका सदस्यहरु पुस्तागत तहका अलगअलग टेबलमा रमाइरहेथे । दीपेन्द्र उसकै पुस्ताका दाजुभाइ दिदीवहिनी ज्वाइभेना आदिसँग यन्त्रवत उपस्थित थिए । शरीर त्यहाँ थियो तर मन त अन्तै । कोहीकोही उमेरले जेठा पनि थिए । कोही नाताले मान्य पनि । तर गद्दीनसीन हुनाले ऊ उसका पुस्तामा सर्वमान्य थियो । उसको  रावफ अरुको भन्दा फरक हुन्थ्यो नै । उसको हकदम अरुमा भाले बास्थ्यो नै । तर आज उसको चित्त ठेगानमा कत्ति थिएन । कहिले मोवाइलमा नम्वर हान्न व्यस्त । कहिले फोनउठाउन व्यस्त । आफूले
 
फोन गरे पनि वा फोन उठाउन परेपनि ऊ सन्तुष्ट कहिल्यै देखिएन । पूर्णतः असन्तुष्ट ।
उसको सबभन्दा मनपर्ने स्कच ह्वीस्की- फेमस ग्राउच । पेगमा ऊ आफै हाल्दैथ्यो र नीट घटघट पिउँदैथ्यो । अरु दिनको भन्दा आजको उसको व्यवहार फरक थियो । नितान्त फरक र एक्लो । भीडमा पनि एक्लो । आज उसले बेस्मारी खाएको हो र पनि उसलाई त्यसले छोएको थिएन । थोरै खाँदा पनि ऊ धेरै मातेको अभिनय गर्ने व्यक्ति हो । सबैलाई थाहा भएको त्यही हो । विशेष उसका पुस्तागत तहका मोजकर्मीहरु जानाजानी त्यो अभिनयलाई चाकरीवत सम्मान पसारेर हाँमा हाँ मिलाइदिन्थे । तल्ला तहकाहरुको ता कुरै रहेन । चारण भाटसरह उसको प्रशंसामै यत्नहरु खर्च गर्थे । यो दिन स्थिति फरक थियो । त्यसैले भनौँ माहौल नै फरक थियो ।
 
उसको समस्या के थियो, किन ऊ असन्तुष्ट छ, कसलाई ऊ फोन गर्छ, कसको फोन उसलाई आइरहेछ भन्ने नै हो भने सबैलाई सबैसबै थाहा थ्यो । अनि अझ आज किन उसलाई रक्सी लागेको थिएन र उसका अभिनयहरु किन आज हावा थिए त्यो पनि सबैलाई थाहा थ्यो । त्यसैले उसका तहका सबै मोजकर्मीहरु भनेजस्तो गरी अनि चाहे जस्तोगरी रमाउन सकिरहेका थिएनन् । आखिर ऊ उसका तहका सबैभन्दा शक्तिशाली व्यक्ति हुँदै हो । भाटहरुलाई के छ ऊ रमाउँदा रमाउन पर्ने अनि दुःखी हुँदा दुखी नै हुन पर्ने । अभिनय नै किन नहोस् ।
 
अलिपर उसका बाबुखालेहरु अर्कै टेबुलमा थिए । आमा थिइन् । काका थिए । काकी थिइन् । फुपू थिइन् । र फुपाहरु थिए । त्यहाँ पनि खुशियालीमा कताकता ग्रहण परेको आभास हुन्थ्यो । विशेष आमाचाहिँको अनुहारमा त्यो कालो छायाँ स्पष्टै देखिन्थ्यो । ती आमा भनाउँदी ढीड आइमाई त्यस समूहमा रहे पनि तिनका सबै ध्यान यतै दीपेन्द्रकै चालढालमा स्तम्भित थियो । तिनी पनि यस जमघटमा कत्तिपनि रमाएकी थिइनन् । भीडभित्र तिनी पनि नितान्त एक्ली थिइन् । तर के गर्ने ? लोकाचारलाई ध्यान दिनु नै थियो सबैको माझमा तिनी विवश मुस्कान छर्दै थिइन् । त्यो स्पष्टै अभिनय मात्र थियो । त्यसको छायाँमा तिनी दुखित-दुखित थिइन् । सबैसबैले स्पष्टै बुझिरहेका थिए । तर को बोल्ने कसको आँट आमाछोराको यो शीत तकरारलाई दखल दिने । बुबा हुने त्यो सर्वशक्तिमान व्यक्तित्वसमेत आफ्नो व्यक्तित्व बचाउन केही थाहा नपाएको नक्कल गर्दै ह्वीस्कीको पेगचित्र लाचार लुकिरहेथे । सबैलाई थाहा थ्यो त्यो सर्वशक्तिमान व्यक्ति पनि त्यो दुस्साहस गर्नबाट भागिरहेथ्यो ।
 
दीपेन्द्रले अझ अटेर गर्दै स्थितिलाई झनै उचालिरहेथ्यो । मानौँ सबैलाई ऊ चुनौति दिँदैछ । बुबा त्यस स्थितिलाई टार्ने मनस्थितिमा थिए । आमा कुनैपनि क्षण प्रतिकारमा उत्रन उद्दत थिइन् । तिनको आँखामा असैह्य क्रोधको आगो दन्किरहेथ्यो । दीपेन्द्र भने आमाको कुनैपनि प्रतिकारविरुद्ध आगो नै उत्रन तयार थियो । अझ तिन्को बल्दो मनोभावलाई चुनौति नै दिइरहेको थियो । बेलाबेलामा श्वास फुत्कार्दै भित्तातिर फर्केर अंग्रेजीमा गाली बक्थ्यो- ब्लडी वीच ।
 
उसको मोवाइलमा घण्टी आयो । कानमा राखेर बोल्यो- हेलो
 
उताबाट के कुरा आयो सुनिएन । तर दीप्रेन्द्रको प्रत्युत्तर थियो- छाडिदेऊ त्यो स्वास्नीको फरियामा गुटमुटिने मान्छेको कुरा ।
 
 
अलि बढी नै लाग्यो सुन्नेहरु सबैलाई यो अभिव्यक्ति । सबैजनाको आँखामा   छक्क अनि  सँगै एक किसिमको त्रास टप्कियो । एकाएक त्यो टेबल निश्तव्ध भयो ।
 
फोनमा कुरा लामो हुन लाग्यो । दीपेन्द्रलाई एकान्त ठाउँमा गएर निर्धक्क कुरा गर्नु पर्ने अवस्था हुन गयो । त्यसै पनि ऊ यो रमझममा भित्री मनबाट उपस्थिति थिएन नै । त्यसमा अर्को दवाव सिर्जना भयो यो फोन । सदासदा यस्ता माहौलबाट उम्कन ऊ मातेको अभिनय गर्ने गथ्र्यो । तर आज त्यसो गरिहाल्न स्थिति बनेकै थिएन । ऊ अभिनयमै किन नहोस् उन्मत्त थिएन नै । के गर्ने स्थिति बनाउन उसले एकपेग सट्ट नीट उडेल्यो । बस् घाँटीबाट छिर्न पाएको थिएन कि उसलाई अहिलेसम्मको उडेलबाट हुँदै नभएको नितान्त नशा भइहाल्यो । ऊ अनौठै लड्खठाउन लाग्यो । सबैले यथा मान्न परिहाल्यो उसलाई कहिल्यै नभएको नशा भइसक्यो । ऊ यत्ति लड्खडायो कि उसका तहका सबै मोजकर्मीहरुले बुझिहाले उसलाई अब बाआमाकै अगाडिबाट सम्हाल्दै खोपीतिर लान पर्छ । र सदा तीनचार जनाले हुन्थ्यो भने आज दुइचार जना थपिएरै जानपर्ने भयो । गरे पनि त्यस्तै ।
 
बाबु, आमा. काका. फुपा. फुपु सबैजनासामु त्यस्तै भयो । बडाहरु हुन्- आफ्ना इज्जतै थाम्न पनि यो निम्न हर्कतलाई वास्ता नगर्न कर लाग्यो । मानौ कसैले यो देख्दै देखेनन् । कसैले देखेर पनि यो सामन्य कुरा हो नयाँ कुरा हुँदै होइन भन्ने पारामा लिए । तर बाबु र आमालाई यो पच्ने कुरा थिएन । जमघटको सबैभन्दा माथिल्लो तहको मान्छेलाई उसको यो व्यवहार ठूलाको अवज्ञा मात्र देखिएन मानौँ अपहेलना नै भयो ।
वास्तवमा एक हिसाबले यो पारम्परिक रात्रीभोज बिग्रियो नै । साँच्चै ऊ रक्सी निकै लागेको अभिनय गर्ने मान्छे हो । एकै पेगमा दश पेगको झन्का लागेको देखाउने मान्छे हो । तर अहिलेको स्थितिलाई अभिनय भन्न नमिल्ने स्थिति थियो । दसबाह्र पेग उडेलेकै हो ।
 
तीस बर्षको मान्छे शरीरमा बोसो लाग्ने उमेरको मान्छे सामान्य मान्छेभन्दा ऊ अलि मोटै हो । चारपाँचजना उही उमेरका लाठेहरुले उसलाई तान्दै लग्दा हम्मे नै पर् यो । भरेङमा त बोक्नैपर्ने गरायो साथीले । त्यानझ्यान गर्दै उसलाई खोपीमा पुर् याइयो । उसले शरीरका लुगा र जुत्ता खोल्ने सुरै ल्याएन । अनि उपस्थित सबैले उसका कपडा जुत्ता मोजा र यहाँसम्म कि भेस्ट नै पनि फुकालिदिए । त्यसपछि ऊसलाई लडेको लड्यै छाडेर सबै उत्रे तल जमघटतिर ।
 
तल जमघटमा स्थिति साम्य भइसकेथ्यो । सबैले राहत भएको अनुभव गर्न लागि सकेथे । सबै भोजको मस्तिमा डुब्न लागे ।
 
एकैक्षणमा बाहिरतिरबाट हेलिकोप्टरको आवाज सुनियो । यस्ता आवाज आइ नै रहने गर्दछ । कसलाई यसको के वास्ता ? वास्ता गर्नपर्ने छँदैछन् कर्मचारीहरु वा अंगरक्षकहरु । सबै आफ्ना मोजमस्तिमा डुबि नै रहे । एकाएक ढोकामा अनौठो देखियो । भर्खरै उभिनै नसक्ने भएर त्यानझ्यान गर्दै लगिएको दीपॆन्द्र एउटा गह्रौँ मेसिनगन हातमा लिएर फूर्तिसाथ भित्र आइरहेथ्यो । उसको दशबाह्र पेग रक्सी कहाँ गयो त्यो लखतरान शरीरमा यो के स्फूर्ति भेस्टसम्म खोल्न नसक्ने मान्छेले कसरी कम्ब्याट र बुट कसेर १६ केजीको बन्दुक बोकेर यत्ति छिट्टै आउन सके ?
 
सबै अन्यमनस्क भए । आमालाई एउटा डर भयो- तिनकै हत्या गर्न त ऊ अघाडि त छैन ? तिनले बारम्बार विरासतमा आएको उनको हक र अधिकार खोसेर उसकै भाइलाई दिलाउँछु भनेर धमास दिने गरेकी थिइन् । तिनलाई अब किलकिलो लाग्न लाग्यो आफ्ना ती धमास । कान्छोलाई पनि मार्ला भन्ने शंका तिनलाई भयो । तिनी तुरुन्तै कान्छो छोरोलाई तान्दै नजीकैको ढोकाबाट बाहिर भागिन् । अंगरक्षकहरुको आशा राखिन् । तर कहीँ कतै कोही पनि देखिएनन् । बाहिर कतै केही चहलपहल पनि थिएन । कता गए वा के भए ती अंगरक्षकहरु पत्तो थिएन । स्थिति अनौठो थियो । एउटा नियोजित षडयन्त्र भइरहेको गन्ध तिन्ले पाइन् । एकपल्ट नराम्ररी थरर काँपिन् अनि स्थितिको अवलोकन गर्दै एउटा कुनामा कान्छो छोरोलाई च्यापेर लुकिन् ।
भीत्र भोजको थलोमा अनौठै भयो । त्यहाँ एउटा मात्र होइन । दुइटा मात्र होइन । तीन चार पाँच गर्दै नौजना दीपेन्द्रहरु भित्रिए । सबैका अनुहार उही दाह्री उही उचाई उही मोटाइ उही लुगा उही बुट उही र बन्दुक समेत उही । कसैले आँखै चिम्लन पनि पाएका थिएनन् कि सबै दीपेन्द्रहरुका मेशिनगनले आगो ओकल्न लागे । एक दुई तीन- कोठा भित्रका एकएक गर्दै ढले । बुबा ढले । काका ढले । ढले फुपा फुपुहरु । बाहिर लुकिरहेकी आमा र कान्छोलाई पनि नक्कली दीपेन्द्रहरुले ढाले । कतै एउटा कोठामा अंगरक्षकहरु कोचारिएका रहेछन् त्यहाँ त बम नै पड्किए । बम र मेशिनगनका आवाज अनि आतंकितहरुका कोलाहल र आर्तनादले त्यो दरवार पुरै थर्कियो । पाले बाँकी रहेनन् ।  सुसारे बाँकी रहेनन् । भान्छे अनि चाकरहरु कोही बाँकी रहेनन् । अनि अचम्मैसँग बाँकिरहे अपुताली खाने एउटै परिवारका सम्पूर्ण सदस्यहरु ।
 
रक्सीले लट्ठ दीपेन्द्रको कानमा बम बन्दुक र आतंकितहरुका कोलाहलले एउटा झस्का दियो । जातैले बन्दुकप्रति सचेत हुन पर्ने, शंकैले पनि यसप्रति चनाखो रहनु पर्ने, गन्ध मात्रैले पनि जाग्न पर्ने-- यहाँ त आवाजहरु आइरहेछन् । एक होइन, दुइ होइन, हज्जारौँका संख्यासाथ एकनाशले । उसको रक्सी हावा भयो । उठ्यो ऊ र झ्यालका सानो प्वालबाट बाहिरका दृश्यहरु हेर् यो । अति अस्वाभाविक- दोहोरो भिडन्त थिएन यो । एकनाश एकथरि आततायीहरुले बाहिर बगैँचा र चौरमा निहत्था चाकरहरुलाई निर्मम सोत्तर पार्दै थिए । उसले बुझिहाल्यो- उसको सम्पूर्ण परिवार सोत्तर भइसकेको स्थिति छ । सम्पूर्ण खान्दानलाई नामेट गरी सत्ता हत्याउने कसैको षडयन्त्र भइनै सकेकोछ । यसको नेतृत्व गर्ने को होला उसलाई मतलव भएन । सबैलाई खाने बागले उसलाई मात्र छाड्ने छैन । ऊ तुरुन्तै गयो साश्त्रागारमा ।
 
उसले राइफल झिक्यो । पेस्तोल झिक्यो । मेशिनगन झिक्यो । गोली गट्ठाका मालाहरु झिक्यो । तर ऊ त नाङ्गै थियो । अण्डरवेरमा मात्र ऊ भिड्न सक्दैनथ्यो । फेरि ऊ कोठामै हतारहतार आयो लुगा लगाउन । सामान्य ड्रेस उसलाई जँचेन । रात्रीको दोछायामा हराउन सकिने कम्ब्याट ड्रेस उसले लगायो । कम्ब्याटका हरेक गोजीमा पेस्तौलहरु राख्यो अनि मालाका माला मेशिनगनका गोलीहरु दुवै काँधबाट छड्के भिर्यो ।
तल आततायीहरुले पत्ता पाए- दीपेन्द्र त्यस भिडमा मारिएन । उनीहरुलाई थाहा भयो- उसलाई कोठामा सुताउन ल्याइएको थियो । उनीहरु दीपेन्द्रलाई सुतेको सुत्यै सिध्याउन खोपीतिर आए । दीपेन्द्रलाई यसको भनक भइहाल्यो । उसले पहिले त आफ्नो ओछ्यानमा सिरानीहरु लडायो र सिरकले छोपेर यस्तो पार् यो कि ऊ नशाको सुरमा सुतिरहेछ । उसले गह्रौँ मेशिनगन हातमा लियो अनि बत्ति निक्कै मधुरो पारेर कुनाको आडबाट प्रतिकार गर्न ढुकेर रह्यो ।
 
दीपेन्द्र केही मोटै मान्छे हो । तर उमेरले उसलाई चितुवाको फूर्ति दिएको थियो । गोली हान्न ऊ यति सिपालु कि मै हुँ भन्ने निशानेवाजलाई ऊ कता हो कता पछाडि पार्दथ्यो । उफ्रेर, लडेर, पसारिएर, घोप्टो परेर, उत्तानो परेर, टाँग मुनिबाट, काखी मुनिबाट, दाहिनेतिर, देब्रेतिर, तलमाथि सबैतिर ऊ बन्दुकहरु नचाउँदै द्रुत गतिमा निशाना लगाउन सक्थ्यो । उसलाई त्यसैपनि सार्पसुटरको राजानै भनिन्थ्यो ।
 
यो के जसले उसलाई पहिले खोपीसम्म सुताउन ल्याएथ्यो त्यहीमध्ये केहीले ती हतियारधारीहरुलाई त्यहाँसम्म ल्याएको रहेछ । त्यस फटाहाले ओछ्यानको त्यस थुप्रोतिर इशारा गर् यो । इशारा पाउनु के थियो एकसाथ सबैले मेशिनगनका गोली वर्षाए । तर उनीहरुलाई गोली कुनै मानवशरीरमा लागेको अनुभुति भएन । सबैमा एकसाथ शंकाको आँखा नाच्न लाग्यो । यता दीपेन्द्रले परिस्थितिलाई बुझिहाल्यो । ऊसलाई कदाचित पछाडि पर्नु थिएन । चिच्यायो- वाष्टर्ड । अनि दाब्यो मेशिनगन भटटटट । सबै निमेषमै धाराशायी भए । कोहीकोही मरिसकेका थिएनन्- चल्दै थिए । दीपेन्द्र ढुकेको ठाउँबाट बाहिर आयो र उनीहरुका टाउकै टाउकोमा गोली दागेर सबैलाई निश्चल बनायो ।
 
दीपेन्द्र तत्काल चाल मार्दै चोरढोकाबाट अर्को कोठातिर निस्के । त्यता कोही थिएनन् । बन्दुकहरुको आवाज बन्द भइसकेका थिए । उसले बाहिर चिहाएर हेर् यो । त्यहाँ केही हेलिकोप्टरहरु मडारिरहेका थिए । एउटा भने आकाशमा स्थीर रहेर रस्सीको भरेंगबाट छसातजना दीपेन्द्रहरुलाई उँभो चढाउँदै थियो । उसले अब उसको परिवारमा कोही जीवित छैनन् र उसलाई पनि छाडिने छैन भन्ने बुझीहाल्यो र सोच्यो- यी नक्कली दीपेन्द्रहरुमध्ये कुनै एकलाई मार्न सकियो भने उनीहरुलाई नै सक्कली दीपेन्द्रको लाश भन्ने धोकामा राखेर आफू बच्न सकिनॆ थियो । तर बन्दुक पडकाइ हाल्ने स्थिति भने थिएन । त्यसको आवाजले उसको स्थितिको ज्ञात शत्रुहरुलाई हुन जान्थ्यो । उ द्वीविधामा पर् यो ।
 
पछाडिको झ्यालतिर प्रकाश मधुरो पर्दथ्यो । त्यताबाट भाग्न सकिन्थ्यो । अझ कम्ब्याट ड्रेसले गर्दा निश्चय नै उसलाई टाढाबाट कसैले ठम्याइहाल्न सक्दैनथ्यो । उसले झ्याल खोलेर हेर् यो । पर आततायीहरु भुइँमा लडेका लाशहरु ओसार्ने र मरेनमरेका जाँच्ने काममा जुटेका थिए । नजीकै पाँचसातवटा ठूलाठूला सैनिक ट्रकहरु आए । यीनमा नोकर चाकर र अंगरक्षकका लाशहरु हतारहतार राखिँदै थियो । हतारमा भएका उनीहरुको ध्यान यता थिएन । बगौँचाका रुखहरुले छेकेको पानीको पाइपको सहाराबाट सर्केर ऊ तल झर् यो । तल नीर्जन थियो । तर दुईवटा लाशहरु लडिरहेथे । आततायीहरुले यी लाशलाई किन छोएनन् उसले भाग्दाभाग्दै त्यता एक दृष्टि दियो । उसको मुखबाट अनायास निस्क्यो- ओह माइ गड ।
 
यो उसकै आमाको लाश थियो । कसरी निर्मम मारेका- अनुहारको एकपाटा नै क्षतविक्षत । कनपटीमै टाँसेर गोली हानेको स्पष्ट थियो । आमालाई ऊ वेहद घृणा गर्दथ्यो । उसको प्रेमको बाटोमा तिनी तगारो भएर उभिएकी थिइन् । सत्ताको उत्तराधिकारी भएको यो जेठा छोरोका लागि आफ्नै माइति खानदानकी बुहारी भित्र्याउन तिनी चाहन्थिन् । अरु केटी बिहे गरेमा सत्ताको उत्तराधिकार नै बंचित गर्नेसम्म धम्की दिएकी पनि  थिइन् । आमाप्रतिको उसको सद्भाव पुरै मेटिइसकेको थियो । ऊ वेहद घृणा गर्दथ्यो आमालाई । तर... तर... आमाको यो अवस्थामा उसको रगत आततायीहरुप्रति त्यसै उम्लियो । एउटा रोसको चित्कार गलाबाट त्यसै फुत्कियो । छाँयामा अडिएर एकछिन आमाको लाशलाई उसले हेर् यो । त्यो निर्जीव लाशमा अब त्यो ढीड थिएन । त्यो असन्तुष्टी त्यो घमण्ड- केही थिएन । दीपेन्द्रलाई पनि अब ती सोचमा परेर आमालाई घृणा गरिरहनु थिएन । दश महिना पेटमा राखेर जीवन दिने आमा हुन् यिनी । दशधारा दुधको अमृत सींचन गर्ने आमा हुन् यिनी । उसलाई भक्कानो फुटेर आयो । क्वाँक्वाँ डाको छोडेर रुन मनलाग्यो ।
 
त्यसैवेलामा केही आततायीहरु त्यतै आउँदै गरेका आहट भयो । माथिबाट हेलिकोप्टरले पनि सर्चलाइट दियो । उसले कतै छल्लिनै पर् यो । सिपाही हो ऊसलाई भावावेगमा कमजोर हुनु थिएन । उसले मुटु दह्रो पार् यो । आमालाई एउटा भावपूर्ण सलामी दिएर ऊ त्यहाँबाट हिँड्यो । जाँदाजाँदै उसले नजीकको लाशमा आँखा लायो । फेरि उसको मुखबाट सहसा निशब्द उच्चारण भयो- ओ माइ गड ।
 
यो उसकै भाइ थियो । मार्नेले उसलाई पनि आमासँगै त्यस्तै निर्दयी पारामा मारेछ । अनायास ऊमाथि हेलिकोप्टरको प्रकाश पर्न गयो ।
 
उसले तत्काल जुक्ति सोच्यो- भाग्यो भने वा असामान्य हरकत गरेमा ऊ चिनिनेछ र ऊमाथि एकसाथ हज्जारौँ गोली वर्षनेछ । ऊ सामान्य ढङ्गमा अगाडि बढ्यो- मानौँ आततायीमध्येकै कुनै सैनिक हो ऊ । हेलिकोप्टरको सर्चलाइट एकछिनलाई अर्कोतिर लाग्यो । त्यही मौका पारेर ऊसले ओझेलतीर फाल हान्यो ।
हेलिकोप्टरको सर्चलाइट फेरि त्यतै फिरेर आयो । अनि त त्यहाँ असामान्य कुरा भएको अवलोकनकर्ताहरुलाई ज्ञात भइहाल्यो- एकैछिन पहिले देखिएको त्यो व्यक्ति कसरी एकै मिनेटमा गायब भयो ?
 
आतायीहरुलाई छिट्टै थाहा भो- दीपेन्द्र अहिलेसम्म मारिएको छैन ।
 
वाकीटकीहरुमा सूचना आदान प्रदान हुन लाग्यो- एकै मिनेट अघिमात्र एकजना दीपेन्द्रकै आकारको मान्छे गायब भएको छ ।
 
अर्कोले भन्यो- उसको हातमा यस्तो हतियार छ जुन यस मिसनमा संलग्न कसैलाई दिइएको छैन ।
सबैले भने- ऊ दीपेन्द्र नै हुनुपर्छ ।
 
अब फेरि हेलिकोप्टरबाट दीपेन्द्रका स्वरुपका कमाण्डोहरु तल झरे । दीपेन्द्र अब द्वन्द्वको अवस्थामा पुग्यो । दाहिनेतिर एउटा खाल्टो थियो । त्यतै दाहिने पाटा शरीर दबाएर ऊ बन्दुक ताक्न लाग्यो । सार्प सुटर दीपेन्द्र- उसले दर्जनौ आततायीहरु मारे । पाँचसातजना त आफ्नै अनुहारकालाई मारे ।
 
नजिकै एउटा ढल थियो । त्यसभित्र पस्न ऊ दाहिने कुइना टेक्दै घस्रन लाग्यो । तर सोचेजस्तो भएन । खाल्डो कम गहिराइको हुनु र उसको शरीर मोटो हुनुले धोका हुन गयो । खाल्डोमाथि देखिएको देब्रे कम्मरमा उसलाई गोली लाग्न गयो । अब त ऊ घस्रनै नसक्ने स्थितिमा पुग्यो । त्यहाँ नै रहेर बचाउ गर्नुपर्ने भयो । गोली चलाएमा ऊ काहाँ छ भन्ने कुरा शत्रुहरुले थाहा पाइहाल्थे । त्यसैले ऊ चुप रह्यो । शत्रुहरु अझै निश्चिन्त चाहिँ थिएनन् । सार्प सुटरको के भरोसा ? एकसाथ दर्जनौ बन्दुकहरु पड्काउँदै शत्रुहरु दीपेन्द्रको खाल्डोतिर बढे । अब अर्को बाटो रहेन । दीपेन्द्रले पनि गोली दाग्न लाग्यो । दर्जनौँ फेरि ढाले । केही समयमै दीपेन्द्रकोतर्फबाट गोलीवर्षा बन्द भयो । आततायीहरुले सोचे दीपेन्द्रको कामतमाम भइसकेको छ । उनीहरु लाश उठाउन उतै गए । तर खाल्डोमा रगतपिच्छे दीपेन्द्र दाहिने कोल्टोसाथ अझै जीवित थिए । गोली सकिएकाले उसले प्रतिकार गर्न छाडेको रहेछ । एउटा नक्कली दीपेन्द्रले ऊसलाई अपमानजनक ढंगमा चिउँडोमा लात्तले हान्यो । दीपेन्द्र क्रोधित भएर चिच्यायो- बास्टर्ड किल मी ।
 
आततायी नक्कली दीपेन्द्र पनि अंग्रेजी नै बोल्ने रहेछ । उसले पेस्तोल झिकॆर भन्यो- अफकोर्स   ।
 
अनि दीपेन्द्रको देब्रे कंचटमा पेस्तौल टाँसेरै उसले पड्कायो । दीपेन्द्र त्यहाँ नै निश्चल बन्यो । पर्खाल भीत्र के भयो बाहिर कसैलाई थाहा भएन । भोलीपल्ट खबर आयो- आफूले छानेकी स्वास्नी ल्याउन नपाएर दीपेन्द्रले पारिवारिक भोजमा भटटट गोली चलाएर आफ्ना वंशका सबैलाई मार् यो र आफू पनि आत्महत्या गरी मर् यो । उसको ढाड र देब्रे कंचटमा गोली लागेको पाइयो ।
 
भटट गोलीले सत्ताका सबै उत्तराधिकारीलाई छानीछानी नामेट पारे । छानीछानी अपुताली खान पाउनेको रौँसम्म हल्लाएन । पर्खालबाहिर जनता स्तव्ध थिए ।
 
एउटा नवयुवा बोल्यो- वाह दीपेन्द्र पहिले त ढाडमा गोली हानेर मर्न सकिन्छ कि सकिन्न भनी जान्न चाहेछौ । नमरेपछि दाहिने हात चल्ने तिमीले हात बटार्दै देब्रे कंचटमा पुर् याएर पनि गोली हान्न सकिन्छ भनेर पुष्टी गरेरै देखायौ । आफ्ना वंशका सबैलाई भटट मारेर अरुलाई अपुताली दिलाउन सक्ने आँखा भएको गोली तिमीले चलायौ । तिमी धन्य रहेछौ । तिम्रो यो करतुतलाई इतिहासले युगयुगसम्म स्वर्ण अक्षरले देखाउने छ ।
 
पर्खालबाहिर आँखाआँखामा अपचको रंग व्याप्त थियो । ढुंगा, माटो, हावा, पानी, घाम, बादल, समय, सबैसबै लज्जित लज्जित स्तम्भित थिए । यो कलम पनि लज्जित छ । यो कलम पनि अपचको रंगसँगै स्तम्भित छ । तपाईको हाल के छ ?
 
अस्तु ।



अबको साहित्य तथा कला कता ? - डा. कविताराम श्रेष्ठ

नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा - डा. कवितारम श्रेष्ठ
Quick Links
 
Tools
Preeti font to unicode Roman font to unicode Keyboard of Preeti font
 


Contact Address 145 Mirmire Marga,
Anam Nagar, Kathmandu
Nepal
Tel: 240418, 222764
Email: cartskrs@hotmail.co.uk
This page was visited   2522   times