मनमाया स्मृति साँस्कृतिक प्रवर्द्धन अनुष्ठान
|
मनमाया स्मृति साँस्कृतिक प्रवर्द्धन अनुष्ठान
सुनौलो पुस्तकालय, धरान - १७
मनमाया मेरी श्रद्धेय माता हुन् । उहाँको देहावसान भए लगत्तै मैले यो प्रतिष्ठान उहाँकै स्मृतिमा नेपाली संस्कृतिका होनहार सर्जकहरुलाई सम्मान दिने उद्देश्यसाथ धरान-१७ को सुनौलो पुस्तकालयको मातहतमा स्थापना गरेको हुँ । यसको स्थापना पनि काकतालीमै पर्न गएको थियो । म आफू बीसबाइसकै उमेरदेखि घरबाट टाढा रही पढ्ने र जीविकोपार्जन गर्न लागेको हुँदा भाइ बहिनीहरुलाई रेखदेख गर्ने कार्यमा कुनै ठोस योगदान दिन सकेको थिइन र त्यसैले मैले मेरा सम्पूर्ण पैत्रिक अंश मेरा तीनजना भाइहरु कुन्दन, बेनु र रोशन (यनु) लाई नै छाड्ने निधो लिएको थिएँ । तर भाइहरुले केही त लिनैपर्छ भनी जोड गरेको हुँदा उनिहरुलाई सन्तुष्ट गर्न जम्मा ५ कट्ठा जमीन मात्र लिएँ र अमाको पसिनाबाट सिन्चित यसै जमीनलाई अक्षयकोषस्वरुप स्थापना गरी यो पुनित कार्य गर्ने योग जुर्न गयो । भावनात्मक रुपमा यो आमाको श्राद्धको रुपमा थियो । म परम्परागत श्राद्ध गर्ने व्यक्ति परिंन । मलाई यसरी नयाँ ढंगमा श्राद्ध गर्ने संयोग जुर्न गयो र पुरोहितलाई नै पढाएर मैले भाइहरुसमेतको लाम बांधेर धरानको रेलवे चोकको माझमा सार्वजनिक कार्यक्रमसाथ परम्परागत श्राद्धविधिमै यो भूदान साथ आमाका श्राद्ध गरेँ । बाहुनलाई खुवाएर होइन, तर सँस्थालाई दान गरेर- त्यो पनि सँस्कृति संवर्द्धनको लागि ।
मनमायाको परिचय तथा शाखा सन्तान .
घरेलु नाम : मन्थकु श्रेष्ठ . जन्म : अन्दाजी : वि. सं. १९८१ साल (अन्दाजि) , चिसंखु नेवार गाऊं, ओखलढुंगा । देहावाशन २०५६ भाद्र ५ , काठमांडों । दाजु एक स्व. हर्कबहादुर श्रेष्ठ । दीदी दुई, । पति : नंदराम श्रेष्ठ । पुत्रहरु : डा. कविताराम, कुन्दन, बेनु र रोशन (यनु) । पुत्रीहरु बालकुमारी र अंजु । छोरा पट्टिका नातीहरु रसोज, कविन, आरोहण र रोहण । छोरा पट्टिका पनाती आभास ।
|
 |